थानकोटमा रोकिएका यात्रुको व्यक्तिगत विवरण टिपेर छाडियो

विराटनगर महानगरपालिकाले काठमाडौं पठाएको यात्रुलाई विवरण टिपेर प्रहरीले छाडेको छ।

विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेपछि उत्पन्न अन्यौल व्यक्तिगत विवरण टिपेर गन्तव्यमा जान दिएसँगै टुंगिएको हो।

यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर यात्रुलाई छाडिएको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले रोकेको थियो।

हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका यात्रुहरु काठमाडौं प्रवेश गरिसकेका थिए। तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको थियो।

यसअघि महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले बाहिरबाट आएका कुनै पनि नागरिकलाई उपत्यका प्रवेश गर्न नदिने बताएका थिए।

अत्यावश्यक काम पर्दा र काठमाडौंमा बस्न असहज भएका केही बाहिर गए पनि भित्रिन नदिने राज्यको नीति भएको भन्दै उनले बाहिरबाट आएकालाई ‘इन्ट्री’ नभएको बिएल नेपाली सेवासँग बताएका थिए।

 ‘अत्यावश्यक काम परेका नागरिक भित्रनु परेमा हामीले त्यस्ताको पहिचान गरेर स्वास्थ्य परीक्षण पश्चात क्यारेनटाइनमा राख्ने गरेका छौ, बाँकीलाई इन्ट्री छैन,’ उनले भने।

काठमाडौं भित्रने नाका थानकोट, भक्तपुर, बल्खुलगायतका क्षेत्रमा प्रहरीले कडाई गरेको उनले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेको छ। यो लकडाउन वैशाख २५ गतेसम्म जारी रहनेछ। लकडाउन लम्बिएपछि काठमाडौं छाड्नेहरुको संख्या बढ्न थालेको छ। भने भित्रनेको संख्या पनि सुरू भएको हो।

प्रकाशित मिति: : 2020-04-27 11:32:06

प्रतिकृया दिनुहोस्