काठमाडौं महानगरपालिका–१३ ले आर्थिक अवस्था कमजोर भएका करीब एक हजार ७०० लाई राहत प्रदान गरेको छ । दैनिक आयस्रोत नभएर जीविकोपार्जन गर्न कठिन भई वडाभित्र स्थायी र अस्थायी बसोबास गरेका नागरिकलाई वडा कार्यालयले चामल, चिउरा, दाल, नुन र तेल वितरण गरेको हो ।
वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म पाँचपटक खाद्यवस्तु प्रदान गरेको वडाध्यक्ष ध्रुवनारायण मानन्धरले जानकारी दिए। राहत वितरणका लागि अहिलेसम्म करीब रू छ लाख खर्च गरेको वडाले छुटेका विपन्न परिवारलाई यही वैशाख १७ गते पुनः ती सामग्री प्रदान गर्नेछ । सम्बन्धित घरधनीको घर नं, नागरिकता नं, सम्पर्क नं, सिफारिसका साथै राहत लिनेको नागरिकता नं अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएकाले वितरण प्रणाली पारदर्शी भएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए।
साधु, सन्त, शारीरिक अशक्तता भएका नागरिकलाई विशेष प्राथमिकतामा राखेर ती सामग्री बाँडिएको छ । मिर्गौैला, अर्बुद रोगजस्ता दीर्घकालीन रोग भएका बिरामीलाई मानवताका आधारमा महत्व दिइएको छ ।
वितरण प्रणालीलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा प्रदान गर्न सेना र प्रहरीको व्यवस्थापन गरिएको छ । पहिलो रेञ्जर गण छाउनीका क्याप्टेन नवीन श्रेष्ठले राहत वितरण वडाले प्रत्येक पटक प्रदान गरेको राहत वितरण कार्यक्रममा सामाजिक दूरी कायम गर्ने, गराउने, अन्य सहयोगको सहज व्यवस्थापनको प्रबन्ध गरेको बताए। सो गणले त्यस वडाका १० जना स्वास्थ्य स्वयंसेवीलाई कोभिड–१९ को सङ्क्रमण व्यवस्थापन गर्नका लागि आवश्यक स्वास्थ्य प्रशिक्षण प्रदान गरेको छ । यसैबीच समाजसेवी देशकुमार श्रेष्ठले आज एक हजार मास्क वडालाई सहयोगस्वरुप प्रदान गरेको छ ।