डा. नम्रता पाण्डे
तनहुँ जिल्लाको पाउँदी खोला पार गर्नासाथ लमजुङ जिल्लाले स्वागत गर्दछ। पाउँदी पार गरेर ५ मिनेट पैदल नहिँड्दै बाटो छेउमै हजुररबुवाले लगाएको ठूलो बगैंचा हाम्रो थियो। बगैँचाकै बीचमा बरपीपलको ठूलो चौतारी पनि हजुरबुवा, हजुरआमाले बनाउनु भएको थियो। बगैंचामा आँप, रूख कटहर, भुइँकटहर, अम्बा लगायतका फलफूल पनि टन्न थिए। बाटो ओहोरदोहोर गर्ने बटुवाहरू चौतारीमा भारी बिसाउथे र आराम लिन्थे। घर थोरै माथि थियो, पानीको कुवा भने बगैंचा नजिकै थियो। खेतको मूलमै कुवा थियो अर्थात् घर, बारी, खेत, बगैंचा सबै आफ्नै सेरोफेरोमा मिलेको थियो।
हजुरआमाले एउटा माटोको गाग्रोमा पानी पनि चौतारीमै राखिदिनुहुन्थ्यो छोपेर, एउटा अम्खोरासहित ताकि आउने जाने बटुवाले आराम गर्दा पानी प्यास पनि मेटून्। अक्षय तृतीयाको अरू दिनभन्दा विशेष हुन्थ्यो। अघिल्लो दिन राति नै हजुरआमाले अँगेनामा दाउरा बालेर हाँडीमा जौ भुट्नु हुन्थ्यो र भुटेको जौ जाँतोमा पिसेर तामाको आरीभरी सातु बनाएर राख्नुहुन्थ्यो।