एउटा सिंगो शताब्दिको बोझ लिएर
घस्रिरहेछ समय हाम्रो
कछुवाजस्तै ।
र आस्थाहरूको लाश काँधमा बोकी
विक्षिप्त भौंतारिंदैछौं हामी
शंकरजस्तै ।
त्यो मक्किएको पुस्तकका जीर्ण पानाहरू
फरफराइरहेछन् हावासँगै
र सडेका अक्षरहरूले
दुर्गन्धित तुल्याउँदैछन्
हाम्रो यो वातावरण ।
आफ्नै आँगनले आज उसको आगमनको
बहिष्कार गरेको छ
आफ्नै घरको ढोकाले पनि
प्रवेश निषेध भनेको छ
घरमा मर्न चाहने उसको याचना
उपहासमा उडाइएसँगै
भएर आहत उसले नागरिकता आफ्नो
महाकालीमा बगाएको छ ।
क्षुधाग्रस्त प्राणीका प्रष्ट गन्न सकिने करङ
र अँध्यारो खाडलमा धँसेका
उसका दुई आँखासिवाय
के छ र यहाँ पारदर्शी ?
हुन त सबै पत्थर पारदर्शी हुँदैनन्
किनकि सबै पत्थर हीरा हुँदैनन्
लालसाको ध्वाँसोले
गाढा अलकत्रे दाग लागेको मनमा
पारदर्शिता खोज्नु नै
फगत मृगमरीचिका हो ।
बाजले परेवाको भोक मेटाउँदैन
बरू आफ्नो भोक मेटाउँछ
परेवालाई भुत्ल्याएर ।
भोका परेवाका लागि
दाताहरूले छरिदिएका अन्नका दानाहरूमा समेत
आँखा गाडिएको छ ।
अर्जुनदृष्टि लगाएर परेवाका आँखामा
मडराइरहेछन् गिद्दहरू ।
आँधी तूफानमा घरको छानो भत्केको बेला
धुरी, बाँसी भिजेर नरम भएको बेला
भित्रभित्रै खाएर खोक्रो पार्दैछन्
मौकापरस्त धमिराहरू ।
फेरि पनि
सिंहनादको हाँस्यास्पद अभ्यासमा रत छन्
ब्वाँसाहरू
विशुद्ध छलयुक्त जलले अभिमन्त्रित गरी
अभिषेक गरिंदैछन् यत्रतत्र
सिंहासनहरू ।
प्रत्येक कदमहरू यहाँ
विवादित किन हुँदैछन्
किन घृणा र आक्रोशका स्वरहरू
बुलंद हुन बाध्य गरिंदैछन्
किन सहयोगमा उठेका हातहरू
काटिंदैछन्
आम आवाजहरू
किन प्रतिबन्धित गरिंदैछन् ?
विवेकशून्यताको अमावश्याबाट निस्केका
असान्दर्भिक आदेशहरू जारी गरिंदैछन् ,
फेरि फिर्ता गरिंदैछन् ।
सायद चटक प्रदर्शन हुँदैछ
कस्तो सनक हावी हुँदैछ
आफ्नै खुट्टामा बञ्चरो हान्दै
अँध्यारो गुफामा धकेलिंदैछ
वर्तमानलाई
र नामेट पारिंदैछ
आफ्नै भविश्यको चित्र ।
वाक्क लाग्दो,
दिक्कलाग्दो,
वितृष्णा जगाउने शताब्दि बोझ
जसले दबाएको छ देशको मानचित्र ।
कस्तो रंगमञ्च हो यो
लबस्तर्याईँको पराकाष्ठा
विदूषक बनेर जग हसाउँदैछन्
यहाँ नायकहरू
अझै अट्टहास गरिरहेछन् मञ्चमा
मुटुविहीन मुर्कट्टाहरू ।
........................***.....................