बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरीका अनुसार बर्दियाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने ती दुई भारतीय मजदुर आफ्नो देश पुगेपछि कोरोना संक्रमण पुष्टि भएकाे हाे।
भारत फर्किएका दुई भारतीयमा कोरोना संक्रमण देखिएको बताइएकाे छ। ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो। कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेने बताए।
उद्योगमा ५ भारतीय र ११ नेपाली काम गर्ने गरेको खुलेको छ। कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल र भारत दुवै पक्षले सीमा नाका बन्द गरे पनि ती भारतीय नागरिकहरु भारतबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान छ ।
बर्दिया जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीका अनुसार क्रसर उद्योगमा ती संक्रमित भारतीयसँग काम गर्ने सबै मजदुरको नमुना संकलन गरी परीक्षण गर्ने तयारी भइरहेको छ।
बर्दियामा अहिलेसम्म ९१ जनाको आरडीटी र २५ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिए पनि कसैमा संक्रमण देखिएको छैन।
संक्रमित व्यक्ति भएको आशंकामा रोग नफैलियोस् भनेर बर्दियाका सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ।