‘कोरोना भाइरस कहिले हट्छ, बाबा,’ ६ वर्ष पुग्न लागेकी कान्छी छोरीले सोधिन्। तीन महिनाको वसन्त बिदाईमा कति घुमफिर गरौंला, पार्कहरू जाउँला, होटल-रेस्टुरेन्टमा पिज्जा बर्गर खाउँला, नदी किनार जाउँला पानी खोलौंला भन्ने बिभिन्न सपना देखेकी थिइन् होला।
परीक्षा सकिनासाथ ‘स्टेहोम’ गर्दै आएको लगभग दुई महिना पुग्न थाल्यो। त्यसै कारण घरमै बस्दा-बस्दा दिक्क परेर यो घरभित्रै बस्ने अभियान कहिले सकिन्छ भन्ने कुराको जिज्ञासाले सोधिन् होला भन्ने ठानेँ।
‘रोग हट्न त अझै समय लाग्छ। तर अबको सात-आठ दिनमा बाहिर निस्कन पाइन्छ होला। तर किन सोध्यौं छोरी?,’ उनको प्रश्नको उत्तरमा आधा प्रश्न मिलाएर जवाफ दिएँ।
हुन पनि कोरोनाको संक्रमणबाट तटस्थ रहन जिल्ला मन्त्रालयबाट ‘३० अप्रिलसम्म घरबाट बाहिर ननिस्कनू’ भनेर कानुन लागू गरेको छ। कोरोना संक्रमण पनि थामिँदै गएकाले सायद यो (घर भित्रै) अभियान ८-१० दिन पछि सकिन्छ होला।
‘छि!’
मेरो उत्तर सुनेर छोरीको मुखबाट कहिल्यै नसोचेको शब्द निस्कियो।
अबको दस दिनमा गृह बन्दीबाट मुक्त हुन मिल्ने खुशीले छोरी नाच्छिन् होला भन्ने सोँचेको थिएँ। तर एक्कासी ‘छि’ भनेको सुन्दा आश्चर्यमा परेँ।
‘किन छोरी, के भयो। अब केही दिनपछि त ६ माईल (बच्चाहरू खेल्नका लागि अति रोचक ठाउँ) जान पाइने भइयो भनेर, खुशी लागेन?,’ मैले सोधेँ।
‘अहँ!, यहाँ घरमै कति रमाईलो छ। बाबा-ममी, दिदी, म, भाइ सबै घरमा अटुटु (बर्मिज भाषामा सँगै) बस्न पाएका छौं। बाबा पनि पसल खोल्न नपाएर घरमै हुनुहुन्छ। हामी सबै एकसाथ खाना खान्छौं। कतिखेर बाबा-ममी पनि हामीसँग खेल्नुहुन्छ। बाबा! सधैं त हजुर पसल बन्द गरेर राति घर आउनुहुन्थ्यो। दिदी र म टिभी हेरिसकेर आफैं सुत्थ्यौं। अहिले भने सबै सँगै खेल्छौं, एउटै टेबलमा परिवारै मिलेर खान्छौं। कुनैबेला बाबाले दिदी र मलाई खुवाउनुहुन्छ। खान-पान गरिसकेपछि हामीलाई बोर नहुन ममीले कथा पनि सुनाउनुहुन्छ। त्यसपछि हामी गेम खेल्छौं। जसमा बाबा पनि साथ दिनुहुन्छ। साह्रै हँसाउनु हुन्छ है, बाबाले। बेलुका हजुरले न्यूज़ हेरेर हामीलाई बुझाउनु हुन्छ। त्यसपछि बाबाको काखमा बसेर हामी टेलिभिजन हेर्छौं। टेलिभिजन हेरिसकेर ममीले भाइलाई सुताउनुहुन्छ। दिदी र म बाबासँग सुत्छौं। बाबा-ममीसँग यसरी रमाउन पाएको बल्ल त हो नि। कोरोना हट्यो भने त बाबा-ममी राति मात्र घर आउनुहुन्छ होला है,’ छोरीले स-विस्तार भनिन्।
उनको कुरा सुनेपछि भक्कानो फुटेर आयो। आँखा चिसा भएको महशुस गरेँ। मैले आफ्ना छोरा-छोरीलाई एकदम खुसी राखेको छु। घरमा नपुग्दो केही छैन। यति भए बच्चाहरू सन्तोष हुन्छन् भन्ने सोचेँको थिएँ। सधैं बिहान सात बजे आफू बाथरूमबाट निस्किँदा बच्चाको स्कुल जाने तयारी भइसकेको हुन्थ्यो। फ्यारी आउने बेला भइसक्थ्यो। बेलुका चार बजे बिदा भएपछि ट्यूशन जानुपर्थ्यो। राति सात बजे ट्यूशनबाट बिदा लिएपछि घर आउँथे जो घरमा राखिएकी कर्मचारीले पिकअप गर्ने गर्थी।
बच्चाहरू एक-अर्काको थकित अनुहार हेर्दै रात्रिभोज खान्थे। ‘खाउ बाबु, मिठो भयो भएन। सन्चो छ/छैन’ भनेर सोध्ने कोही थिएन रै’छ उनीहरूको छेउमा। राति आठ बजेपछि पसल बन्द गरेर घर पुग्दा बिहानदेखि बेलुकासम्मको अध्ययनले थाकेर सुतिसकेका उनीहरूमा दह्रो मनोबल, आत्मबल र उज्वल भविष्य खोज्थेँ।
कुनै कुनै आईतबार स्कुल बिदा हुँदा म पसल जानु अगाडि उनीहरूलाई ७३ गल्लीस्थित ओसियन सेन्टर घुम्ने योजना सुनाउँथे। त्यतिबेला उनीहरूमा घुम्न जाने निहुँमा आफ्नो माता पितासँग समय बिताउने इच्छा रहेछ सायद मैले बल्ल महसूस गरेँ।
अधिकांश समय ‘अहिले पसल छाड्न मिल्दैन, बसन्त बिदामा अथवा म्यान्मारको होलीमा (त्यो समयमा ५ दिन जति पसल बन्द गरिन्छ) घुम्न जाउँला, अहिले घरमै बसेर पढ, टिभी हेर,’ भन्ने मात्र सुन्न पाउँथे बिचरा कोपिलाहरू।
माता पिताको व्यवसाय र उनका बाल बालिकाप्रतिको सन्तुलनमा सधैं पराजय भइरहेका हुँदारहेछन् हाम्रा छोरा-छोरीहरू।
मैले आजसम्म ‘घर’ को परिभाषा अर्कै बुझेको रहेछु। आफूले बुझेको ‘घर’को दृष्य डेकोरेशन राम्रो छ। राम्रा र महँगा फ़र्निचर अथवा अन्य उपयोगी सबै बस्तुहरू जुटाएको छु। तर पनि अत्यावश्यक कुराको खाँचो परिरहेको हुँदो रहेछ घरमा,जानी नजानी।
‘अंग्रेजी माधयममा पढाई हुने स्कुलमा भर्ना गर्दैमा मैले मेरा छोरा-छोरीलाई दिनुपर्ने विशेष कुराको पूर्ति गरिदिएँ। बुबा आमाको कर्तब्य सबै पूरा गरेँ, म कहिलेकाहीँ यस्तै सोच्थेँ। तर आज छोरीको कुरा सुनेपछि छाँगाबाट खसेजस्तो भएको छु। थचक्क सोफामा बसेँ। एक क्षणसम्म केही बोल्न सकिनँ। किनभने खस्न थालेका मेरा आँसूहरू आँखा भित्रै लुकाउने प्रयासमा व्यस्त भएँ।
कोरोनाले लाखौं मान्छेको ज्यान लिएर विश्वभर त्रास मच्चाएको छ। ‘स्टे एट् होम’ गर्न बाध्य गराउनु त एउटा निहुँ मात्रै रहेछ। बरू मेरो जीवनमा ठूलो उपकार नै गर्न आएको पो रै’छ कि जस्तो नहुँदो सोँचाइ आयो मनमा।
संजोग नै भने पनि यो स्थितिले गर्दा मेरा सपूतको मन पढ्न पाएँ। व्यापार र व्यवहारमा धेरै कुरा जितिसके पनि झन्डै छोरीको मन हार्न आँटेको रै’छु।
जय होस माड्ले जिल्ला मन्त्रालय, जसले घर बसेर छोरा-छोरीको मन पढ्ने अवसरको श्रृजना गरिदियो। मेरा लागि अविस्मरणीय छ जीवनको पहिलो र लामो स्टे एट होम।
अनेकौं रंगले लुछुप्प,निराकार भावनाले स्तब्ध भएको मनलाई छोरीको निर्मल अनुहारमा केन्द्रीत गराएँ। र उनका कोमल गाला मसार्दै, ब्यापारको सफलतानै जीवनको सफलता ठान्ने आफैंले बनाइएको स्वार्थी समयतालिका आजैदेखि तिमीहरूलाई प्राथमिकता दिइ परिमार्जन गर्ने भनि मनमनै बाचा गरेँ।