संकटमा जुम्लीका सारथी, थानेश्वर पाल्पाली

३० वर्ष अगाडी एक बैंसालु ठिटो पुरै गोठ उठाएर पाप्लाबाट जुम्ला सर्याे। व्यापार मुख्य योजना थियो उसकाे। भर्खर बसाएको पहाडे घरबारलाई हिमाली हावासँग घुलमिल गराउन जुम्लासम्मको यात्रा नाप्यो। सायद, डार्विनले अनुकुलताको सिद्धान्त एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइको चाहाना राख्नेहरुकै लागि प्रतिपादन गरेका थिए। 

आज त्यो बैंसालु ठिटोले आफ्नो जोवन खाइसकेको छ। कपाल फुलेका छन्। दारी पाकेका छन्। जीवनको उत्तरार्द्धमा पनि जुम्लीहरुको सेवामा निरन्तर खटेको छ। रगत हुन्जेल, तरो लागुन्जेल, बल लगाएर कमाएका रुपैयाँ, शहरमा लगेर आनन्दले मोज गर्दै छोरा–बुहारी, छोरी–ज्वाई, नातिनातिनावरिपरी राखेर खुट्टा तन्काउँदै मर्ने चाँहना राख्ने बेलामा भौतिक सुख सुविधा त्यागेर शरीरका नशा तनक्क तन्काउँदै सेवा गरिरहेछ, बुढो व्यापारी। 

००००

लामो कपाल, बाक्ला दारी जुंगा, औसतभन्दा अलि बढी उचाई, जुम्लीको सेवा गर्दै त्योभन्दा बढी उचाई बनाएका बुढो पाल्पाली व्यापारी हुन्,थानेश्वर पोखरेल। 

२०४६ सालमा उनी पाल्पाबाट श्रीमती, एक छोरा र छोरीसहित जुम्ला सरेका थिए। त्यस बेला उनी ३० वर्षका थिए। व्यापारको सिलसिलामा जुम्ला पुगेका उनको उद्देश्य सुरुदेखि नै कम मूल्यमा समान बेच्ने थियो। नाफा खाएर प्रशस्त कमाउने र घर घडेरी जोड्ने चाहना बनेन।

हरेक व्यापारीले आफ्नो व्यापार व्यवसायको प्रचार गर्छन। उखानै छ, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।’ जतिसक्दो आकर्षक प्रचार गर्छन्। सकेजति ग्राहक आफ्नोमा तान्ने प्रयत्न गर्छन्। त्यसैले आज संसारभर कर्पोरेट हाउसले सबैभन्दा बढी लगानी विज्ञापनमा गरिरहेका छन्। 

साना हुन वा ठूला, धेरैजसो व्यापारीको विज्ञापनमा अन्तिम वाक्य हुन्छ, ‘सेवा गर्ने मौका दिनुहोस्’। यति मिठो वाक्यभित्र लुकेको मोटो नाफाको स्वार्थमा नडुब्ने व्यापारी भेटाउनु दिउँसै आकाशमा तारा खोज्नु जस्तै हो। भौतिक सुख सुविधा त्यागेर जोगी बनेकाहरु सम्पत्ति जोड्दै छन्। जनताको सेवाको ढ्वाँङ फुकेर राजनीतिमा लागेकाहरु सात पुस्ता पुग्ने सम्पत्ति थुपार्दै छन्। यस्तो परिवेशमा पनि‘सेवा गर्ने मौका’ कुरेर बस्ने असली व्यापारी हुन्, उनी।

‘अत्याधिक नाफा कमाउने उद्देश्य राखिन। थोरै नाफा खाँदा पनि पुग्छ। कसैलेएक प्याक चामलमा पचास रुपैयाँ बढी नाफा खायो, तेलमा यति रुपैयाँ बढायो भन्ने सुन्दा पनि अचम्म लाग्छ,’ उनी भन्छन्, ‘सुरुदेखि नै खान लाउन पुगे भइहाल्यो भन्ने भयो। ठूलो परिमाणमा बिक्री गर्दा उसै पनि नाफा हुन्छ। किन उपभोक्तालाई मारमा पार्नु र?’

केही दिनअघि नगरपालिकाबाट अनुगमन भएको थियो। त्यति बेला उनले ह्वाइट बोर्डमा लेखेको मूल्य सूची राखेर सकेसम्म यो मूल्यमा बढाउँदिन भनेर बाचा गरे। उनले भने, ‘उहाँहरुलाई बचन गरेको थिए। बचन हार्ने कुरा भएन। गाडीहरु रोकिए भने तपाईहरु पहल गरिदिनु होला। सेवा दिन म तत्पर छु, भनेको थिए।’

संकटमा मूल्य बढाउनु अधिकांश व्यापारीको मुख्य लक्ष्य हुन्छ। बर्खा लाग्दा गाडी रोकिएर उपभोग्य वस्तुको सहज आपूर्ति नहुँदा, चाडपर्व लागेर माग अत्याधिक बाड्दा कृतिम अभाव सृजना गर्नु हाम्रो जस्तो अव्यवस्थित वितरण प्रणाली भएको देशमा व्यापारीको नैसर्गिक अधिकार जस्तै हो। 

तर, हरेक संकटमा उनी मूल्य घटाउन तत्पर भए। चाहे बर्खा लागोस् वा चाडबाड, भारतले लगाएको एकतर्फी नाकाबन्दी होस् वा अहिलेको कोरोना भाइरस (कोभिड –१९) को विश्वव्यापी महामारी, उनले अत्यावश्यक वस्तुको मूल्य घटाएर बेचिरहेका छन्। यहि हो उनको संकटमा जुम्लीहरुको सारथी बन्ने काइदा। 

२०७२ आसोजमा भारतले लगाएको एकतर्फी नाकाबन्दीले देशभर उपभोग्य वस्तुको अभाव भयो। दशै, तिहार जस्ता ठूला चाडपर्वको बेला पनि उपभोग्य वस्तुको भाउ आकाशियो। नेपालले भूपरिबेष्टित राष्ट्रले पाउने अधिकारसम्म पाएन। व्यापारीले मौका छोपे। त्यति बेला पनि उनी आफ्नो गोदाममा राखेको समानमा केही मूल्य घटाएर बेचिरहेका थिए। गोदाम रित्तिएला र नाफा रोकिएला भनेर पीर मानेनन्। सेवा गर्ने पवित्र उद्धेश्य राखेर सामान बिक्री गरिरहे। फिलिम हलको टिकटमा समेत दलाली गर्ने देशमा सेवा गर्ने पवित्र उद्देश्य राख्नु आफैमा उदाहरणीय काम थियो। 

‘नाकाबन्दीको बेला देशभर तेलको सटेज भएको थियो। यहाँ आएको तेल काठमाडौंसम्म पठाए। त्यहाँ साह्रै महंगो भयो रे। हामीले डाइरेक्ट फ्याक्ट्रीबाट ल्यायौं। अनि सस्तोमा बेच्यौं,’ भन्छन्, ‘आफ्नै गाडी थियो। अरुलाई भाडा तिरेनौ। डिजेल र ड्राइभरको खर्च बाहेक अरु जोडेनौं।’

हाल उनको गोदाममा पुरानै मूल्यको माल स्टक छ। लकडाउन केही समय लम्बिए पनि खासै समस्या छैन। हजार कुइन्टेल जति चामल छ। यसरी सेवा दिने व्यापारीहरुलाई मन नपराउने केही अरु व्यापारी पनि हुन्छन्। शेक्सपियरको ‘भेनिसको व्यापारी’ कथाका खराब व्यापारी जस्तै।

कथामा भेनिसमा दुई व्यापारी हुन्छन्। एउटा असल व्यापारी, अर्को खराब व्यापारी।खराब व्यापारी लुट्ने प्रवृतिको हुन्छ भने असल व्यापारी सबैको सेवा गर्ने खालको हुन्छ। खराब व्यापारी उसलाई ठिक पार्ने मौका कुरी बसेको हुन्छ। नभन्दै असल व्यापारीको जहाँज समुद्रमा हराइरहेको बेला उसको साथी बिहेको लागि पैसाको सहयोग माग्न आउँछ। साथीको बिहे गराउन खराब व्यापारीसँग ऋण माग्न जान्छ। खराब व्यापारीले तोकिएको समयमा पैसा नतिरे शरीरको एक पाउ मासु काटने सर्त राख्छ। ऊ सम्झौतामा सहि गर्छ। साथीको बिहे गराउँछ।

संयोग असल व्यापारीले ऋण तिर्न सक्दैन। अन्तिममा केस अदालत जान्छ। खराब व्यापारी मासु काट्न चक्कु लिएर बसेको हुन्छ। असल व्यापारीको भर्खरै बिहे गरेको साथीको व्यापारीको श्रीमती न्यायाधिशको भूमिकामा अदालत आउँछ र सम्झौतामा उल्लेख नभएको रगतलाई मुद्दा बनाएर असल व्यापारीलाई जिताइदिन्छ। ऊ एक पाउ मासु काटिनबाट जोगिन्छ।

थानेश्वर भेनिस शहरमा भएको जस्तै असल व्यापारी हुन्। संयोग संसारले व्यहोरीरहेको महामारीको बेला असल व्यापारीले सारा जुम्ली जनतालाई दुई पैसा सस्तोमा सामान उपलब्ध गराउँदा पनि प्रशासन उसैको गाडी थुत्न आइपुग्यो। व्यापारीको छाता संगठनसमेत चुप लागेर बस्छ।

‘मेरो गाडी के कति कारणले रोकियो प्रशासनले केही भनेन। अवैध काम गरेको भए म जेल जान पनि तयार छु। तर म गाडी छुटाउन गइन। जान्न पनि। मैले उद्योग वाणिज्य संघलाई भने तपाईहरु पहल गर्ने भए गर्नुहोस्, नगर्ने भए नगर्नुहोस्। मेरो गाडी प्रशासनले ६ महिना रोके पनि म आफै जानेवाला छैन।’ उनले निर्भिकताका साथ भने, ‘मैले अवैध काम गर्‍याछु, खाद्यान्न बाहेक अरु ओसारेको छु भने लगेर थुन्नुस्। कारबाही गर्नुहोस्। होइन भने किन राख्ने मेरो गाडी? मलाई फोन गरेर तपाई फटाह हो भन्नुपर्ने। कारबाही गर्नुपर्ने, ठाउँमा उहाँहरुले तपाई को हो र? भन्नु भयो। त्यसपछि मैले पनि केही वास्ता गरिन।’

००००

उनी सुरुमा थोक व्यापारी थिएनन्। प्रारम्भमै सस्तोमा समान बेच्नुपर्छ भनि लागेका हुन्। ‘सस्तोमा सामान बेच्दा, बेच्दा त होलसेल भए। अहिले मेरै पसलको आधारमा दुई सय व्यापारी दुई पेटी तेल, एक पेटी साबुन, चार कट्टा चामल लगेर आफ्नो व्यवसाय धान्नेहरु जो हुनुहुन्छ, उहाँहरु मलाई खुद्रामा कतिसम्म बेच्दा हुन्छ भनि सोध्नुहुन्छ। मेरो जतिको खुद्रा दरमा बेच्नलाई। नत्र व्यापार चल्दैन। मैले फ्याट्ट पसल बन्द गर्दिए भने ६ महिना उहाँहरुलाई असर पर्छ। नाग्मदेखि डिल्लीचौर लासीसम्मका व्यापारीहरु हुनुहुन्छ। यसरी चलेको मेरो व्यवसाय होलसेल नै भयो नि अब त,’ उनले थोरै मुस्कुराउँदै आफ्ना कुरा राखे। 

उनी मजदुरकाे जीवनशैलीलाई हेरी व्यापार गर्छन्। उनीहरुको मुखमा माड पस्नु नै वास्तविक सेवा हो भन्ने असल विचारलाई फैलाउन तिर लागे। ‘दिनभरी ढुंगा बोकेर, मजदुरी गरेर सय पचास रुपैयाँ कमाउनेको कमाईं सोसेर हामीले नाफा कमाउने उद्देश्य राख्यौं भने उनीहरुको सबै सकिन्छ। हाम्रा भूइँ तहका ग्राहक घट्छन्,’ उनले गम्भीर कुरा उठाउँदै भने, ‘उनीहरुको कमाईंबाट हामी पालिएका छौं। संकटको बेला उनीहरुको पेट भोको रहयो भने हाम्रा ग्राहक घट्छन्। सारमा हाम्रो व्यापार चौपट हुन्छ।’

यहि बेला उद्योग वाणिज्य संघका अध्यक्षले सस्तो पर्ने तेलमा एक काटुनको सय रुपियाँ बढाएर बेचे। थानेश्वर जस्ता धेरै व्यापारी गएर अध्यक्षलाई सम्झाए। ‘हामी सबै व्यापारीले संकटको बेला उपभोक्तालाई मारमा पार्नु  हुन्न भन्यौं। सस्तोमा बेच्नुपर्ने ठाउँमा महंगोमा बेच्नु बेठिक भन्यौं। हाम्रो कमान्डरले नै यस्ताे गरेपछि अरुले के गर्लान भन्यौं? सकभर यस्तो नगरेको भए हुन्थ्यो भन्ने भयो। हामीले आफ्नो कर्तव्य भुल्नु हुँदैन भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘मलाई कुनै लोभ छैन। म आफै शरणार्थी जस्तो छु। तपाईं अहिलेसम्म म जन्मिएको जिल्लादेखि म जहाँ जहाँ गए, त्यहाँ गएर सर्च गरी हेर्न सक्नुहन्छ। मेरो यतिउती सम्पत्ति छ भनेर। चलाएको छु, बस यही हो।’

००००

संसारले खेपिरहेको महामारीपछिको अर्थतन्त्र, व्यापार, आम्दानी मानिसको दैनिकी आदि बारे भविष्यावाणी हुन थालिसकेको छ। यो माहामारीमा हुँदा खाने वर्गले सबैभन्दा ठूलो नोक्सानी व्यहोरीरहेको छ। संकटको सामना गर्न सबै एक हुन जरुरी छ।संकटलाई अवसर ठानेर अकूत नाफा कमाउने सोच्नु ठगी धन्दाबाहेक अरु हुँदैन। थानेश्वर जस्तै ठूला व्यापारीको पनि भूमिका महामारीमा महत्वपूर्ण हुन्छ। कसैले भुल्नु हुँदैन हामी जिम्मेवार छैनौं भनेर। 
 

प्रकाशित मिति: : 2020-04-25 21:18:00

प्रतिकृया दिनुहोस्