चौतर्फी आलोचना बढेपछि ट्रम्पले भने, ‘मैले त मजाक गरेको थिएँ’

बिएल संवाददाता

न्यूयाेर्क

संसारभर कोरोना भाइसले हाहाकार मच्चाएको बेला लाखौंकाे ज्यान बचाउन दरिलाे भूमिका खेलिरहेका चिकित्सकहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे एक भनाइको आलाेचना गर्न उत्रनु परेको छ। 

आफ्नो राषट्रपतिको आलोचना गर्दै उनको टिप्पणीको जवाफ गर्नुपर्दा विडम्वनापूर्ण अवस्था सिर्जना भैरहेको छ। 

ट्रम्पले बिहीबारको कोरोना भाइरस ब्रिफिङ्गमा कोरोना भाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताए। 

उनका अनुसार  ब्याक्टेरियानाशक रसायनसहितको इन्जेक्सन लगाएमा शरीरमा रहेको कोरोना भाइरस मर्ने छ। यस्तै उनले घाममा बस्दा पनि भाइरसको अन्त्य हुने उल्लेख गरेका थिए।

तर, चिकित्सकहरू यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन्। 

संयम् चिकित्सक तथा उच्च स्वास्थ्य अधिकारीले ट्रम्पको टिप्पणी अति खतरनाक र भ्रमपूर्ण वा पथभ्रष्ट गर्ने खालको रहेका भन्दै आलाेचना गरिरहेका छन्।

यसैगरी ब्याक्टेरिया वा जीवाणुनाशक रसायन उत्पादन गर्ने प्रमुख कम्पनीले पनि ट्रम्पको टिप्पणीपछि कडा चेतावनी दिँदै आफ्ना उत्पादन मानव शरीरमा नलगाउन सचेत गराएको छ।

जीवाणु नाशक रसायन उत्पादक रेकिट बेनकाइजरले भनेको छ, ‘कुनै पनि अवस्थामा हाम्रा उत्पादनहरु इन्जेक्सन मार्फत वा अरु कुनै माध्यमबाट शरीरमा नलगाउनु होला।’ यता चर्काे आलाेचना खेप्न नसकेपछि राष्ट्रपति ट्रम्पले आफ्नाे गल्तीलाई सच्याउने काेशिस गरेका छैनन्।

शुक्रबारको ब्रिफिङ्गमा उनले पत्रकारका प्रश्नको जवाफ दिएनन्। ट्रम्प पत्रकारसँग ‘झगडा’ गर्न र उनीहरुका प्रश्नको जवाफ आफै दिन रुचाउने व्यक्ति हुन्। यो अति असामान्य घटना हो तर जीवाणुनाशक इन्जेक्सनसम्बन्धी टिप्पणीको चौतर्फी आलोचना भइरहेका बेला उनले पत्रकारका प्रश्नको सामना नगरेका हुन्। उनले यति मात्र भने, ‘मैले त मजाक पो गरेको थिएँ ।’

ट्रम्पले कोरोनाको संक्रमण र त्यसको उपचारका विकल्पलाई लिएर लगातार जोखिमपूर्ण टिप्पणी गर्दै आएका छन्। सुरूमा मलेरियाविरुद्धको औषधि होइड्रोक्सिक्लोरोक्वीनले कोरोनाको पनि उपचार गर्ने बताउँदै आएका उनी अहिले त्यसको पैरवी गर्न छोडेका छन्।

प्रकाशित मिति: : 2020-04-25 07:55:11

प्रतिकृया दिनुहोस्