'ती रमाइला दिनहरू' 

लघुकथा

आज आमाको तिथिको दिन। गाउँको घर छाडेर बिजनेस गर्न शहर पसेपछि पहिलोपल्ट श्राद्ध गर्न झलक बहादुर लाई निकै असहज भइरहेको छ। 

भाडामा लिएका दुईवटा कोठा। दराज, पलंग, टेवल, सोफा, फ्रीज, टीभी आदि सहितको सिटींग र बेडरुम। सानो किचनमा ग्यास टेबुल, डाइनिंग टेबुल भाँडाकुँडा राख्ने आलमारी र अरू के के। निस्सासिंदो वातावरण। बाहिर पसल। सामानहरूको भद्रगोल। श्राद्ध गर्न पायकिलो ठाउँको अभाव। पानीको अनिकाल, पायसको लागि पानी जस्तो दूध, गाईको शुद्ध घिउ त मुन्धुम मात्र। खुट्टो सार्ने ठाउँको अभाव माझ चेलीबेटी, दाजुभाइ, देउरानी जेठानी र आफन्ताहरूको हल्लाखल्ला।

अत्यन्त कष्टका साथ श्राद्धको विधि पूरा भयो।ब्राह्मण देवता यथोचित प्रकारले विदा गरियो। बस्ने ठाउँको अभावमा सबैजनाले खडा खडा भोजन प्रसादी लिएर बिदा भए।

राति दसबजी तिर झलकबहादुर दम्पती पल्टिए। झलकबहादुरलाई निद्रा लागेन। श्रीमती संग गनगनाउन थाल्यो---'तिम्रा ढिपिले गर्दा स्वर्गभन्दा रमाइलो त्यो हाम्रो गाउँले घर सित्तैमा बन्धक दिएर यो कोचेरोमा आउनु परयो। झ्यालखाना जस्तो यो उकुसमुकुस हुने बाकस भित्र बसेर वरीपरी दुर्गन्धले भरिएको यो नर्ककुण्डमा जीवन कसरी बिताउनु ? छाकैपिछे टोप्लामा चामल किन्नुपर्ने। बजारको सडेगलेको तरकारी, पानी जस्तो दूध, ओइलाएका फलफूल खाएर अधमरा हुन पर्ने। चारैतिरबाट ह्वास्स गनाउँने हावा सुँघेर ज्युँनू पर्ने। सम्झि हेरत--त्यो हाम्रो रातोमाटो र कमेरोले पोतेको दुईतले घर। फराकिलो सिकुआ, ठूलो आँगन, डिल-डिलमा झपक्क बारमासे फूल। धुप्पीका मगमगाउँदा सुन्दर बोट। कान्लामा आँप, कटहर, दारिम, नस्पाती, आरु, अम्बा, सुन्तला याम अनुसारका फलफूलका बोटहरू। सिकुवामा जाँतो, कटेरामा ढिकी-दाउराको हार, आँगनमा मकैको थांग्रो, ढिकुटीमा धान, ग्वालीमा गाईगोरु, खोरमा भेडाबाख्रा, डुँडमा मौरीको घार। घरमाथि वन, घरमुनि बारी, बारीमुनि खेत। 

दशैं-तिहार जस्ता चाडपर्वमा चेलीबेटी आफन्ता, परपाहुनाहरू जतिसुकै आएपनि सहकाल थियो, फरहरी थियो। कामले लखतरान परेर घर आउँदा पिंडीमा थ्याच्च बसेर दुई लिटर जति मोही घटघटी पिएर डकार्दै थकाइ मारिन्थ्यो।दही दूध र घिउको त खोलै बग्थ्यो। साँधेका सिन्की/मूलाको साग सँग एकथाल भुटेका मकै पडकाइन्थ्यो। गुन्द्रुक कै झोलसँग तीनमाना भात खाइन्थ्यो। जतिसुकै पाहुना आएपनि खुशी लाग्थ्यो। के गर्नु र ! अब ती रमाइला दिनहरू ग......ए।

प्रकाशित मिति: : 2020-04-25 13:25:00

प्रतिकृया दिनुहोस्