कर्णाली प्रदेशले लकडाउन खुकुलो गर्दै 

कर्णाली प्रदेशले लकडाउन केही खुकुलाे बनाउने भएकाे छ। बिहीवार बसेको प्रदेश विपद् व्यवस्थान केन्द्रको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

लकडाउन जारी रहेकै अवस्थामा प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन गर्ने, अलपत्र परेका व्यक्तिको उद्धार र कृषिकार्यको सन्दर्भमा लकडाउन केही लचिलाे हुने भएकाे हाे।

कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाएर प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन गर्ने, कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै सुरक्षा प्रबन्ध मिलाएर तीनै तहका सरकारी कार्यालय खोल्ने निर्णय गरिएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

बैठककाे निर्णयमा, ‘अन्यत्रबाट प्रदेशमा प्रवेश गरेका व्यक्तिलाई सिधै सम्बन्धित जिल्ला वा पालिकामा जान दिने निर्णय पनि गरेको छ। अन्य प्रदेश वा जिल्लाले ल्याएर छाडेका, तर आफ्नो खर्चमा गन्तव्यमा पुग्न नसक्नेलाई उचित व्यवस्थापन गरी पठाउन लागिएको हाे यसरी पुगेकालाई क्वारेन्टाइन, होम क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा रहने गरी सम्बन्धित जिल्ला र पालिकाले सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ,’ भनिएको छ ।

बैठकले लकडाउनको अवधिमा कृषिजन्य उत्पादनको आन्तरिक बजारीकरण, ओसारपसार र बाहिरबाट ल्याउनुपर्ने उत्पादनको बारेमा ठोस योजना निर्माण गरी प्रबन्ध मिलाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई जिम्मा दिइएकाे जनाएको छ।  जिल्ला तहमा आवश्यक प्रबन्ध मिलाउने काम जिल्ला प्रशासन कार्यालयले गर्नेछ। 

सीमित जनशक्ति परिचालन गरी मेसिन तथा औजारबाट निर्माण गरिने विकास योजनाको सहजीकरण गर्न प्रदेश र जिल्ला तहलाई जिम्मा दिने पनि निर्णयमा उल्लेख छ।
 

प्रकाशित मिति: : 2020-04-24 17:39:06

प्रतिकृया दिनुहोस्