काठमाडौं र पोखरामा अलपत्र पथरी शनिश्चरेकालाई घर ल्याइयो, थप अलपत्र उद्धार हुँदै

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले पोखरा र काठमाडौंमा अलपत्र परेका मोरङको पथरी शनिश्चरेका सहित ३२ जनालाई बसबाट आ-आफ्नो गन्तब्यमा पुर्‍याइएको छ।

काठमाडौं र पोखराबाट गृहनगर आइपुगेकालाई पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईको अगुवाइमा नगरका स्वास्थ्यकर्मीबाट पथरी चोकमा ज्वरो चेकजाँच गरिएपछि मात्र आ-आफ्नो गन्तव्य पठाइएको थियो।

यात्रु र बसलाई औषधि छर्केर  डिसइन्फेक्टेड गराइ मास्क समेत वितरण गरिएको थियो। पोखरा र काठमाडौंबाट आएका दुई वटा बसमा पथरीशनिश्चरेका १२ जनासहित मोरङ र झापाका मानिसहरू थिए।

यसैबीच हसन्दह-काठमाडौं समाजले काठमाडौंमा आएर विभिन्न पेशा व्यवसाय गरिरहेका मजदुर, विद्यार्थी तथा बिरामीलाई घर लैजाने भएको छ।

समाजका अध्यक्ष जीवन थापाको संयोजकत्वमा नगरपालिकासँगको सहकार्यमा यहाँ अलपत्र परेर घर जान चाहनेलाई पठाउन लागिएको हो।

‘पथरीशनिश्चरे नगरपालिका अन्तर्गत साबिक हसन्दह गाविसबाट काठमाडौं आएका मजदुर, बिरामी, विद्यार्थीहरू कोही बेखर्ची भएर बस्नुभएको छ र घर जान चाहनुहुन्छ भने गाडी र पासको लागि प्रयास भइरहेको छ’, थापाले भने, ‘त्यस्तो व्यक्ति कोही हुनुहुन्छ भने हामी घर पुर्‍याउने कोशिश गरिरहेका छौ।’

उनले यदि हसन्दहबाट काठमाडौं आएर अलपत्र परेकाले समाजका सदस्य तथ ९८५११२०७०३,९८५१०४०६२६, ९८५११११३४८ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

यस्तै वडा नम्बर  १० का वडाध्यक्ष सागर राईले पनि आफ्नै पहलमा आफ्ना वडाका मानिसलाई घर लैजाने भएका छन्। यसका लागि ९८१९०५१९८८ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-04-24 10:29:09

प्रतिकृया दिनुहोस्