किम गम्भीर बिरामी परेको खबर पत्यार लागेन: राष्ट्रपति ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उन गम्भीर बिरामी परेको भन्ने कुरा आफूलाई सत्य नलागेको बताएका छन् ।

गएको सोमबार दक्षिण कोरियाको सिओलको डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो ।

तर ट्रम्पले कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनको क्रममा बिहीबार ह्वाइट हाउसमा बोल्दै उत्तर कोरियाका नेता किमको स्वास्थ्य सम्बन्धी खबरहरु सत्य नरहेको हुन सक्ने बताएका हुन् । 

अहिले किमको स्वास्थ्य सम्बन्धी विभिन्न दाबीसहित आएका खबरहरु पुरानो जानकारी वा तथ्यसँग सम्बन्धित रहेको ट्रम्पले बताए । तर उनले नेता किम वा त्यहाँका अधिकारीसँग आफ्नो सम्पर्क भए नभएको जानकारी भने दिएनन् ।

उनले उत्तर कोरिया र नेता किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको र उनी ठीक छन् भन्ने आश रहेको बताए ।

यसअघि मंगलबार उनले नेता किमको स्वास्थ्यबारे बुझ्न उत्तर कोरियाका अधिकारीलाई आफूले सम्पर्क गर्न सक्ने बताएका थिए । बिहीबार भने उनले त्यसबारे जानकारी दिएनन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा देखिएका छैनन् ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । 

थला परेका छैनन् किमः दक्षिण कोरिया

उत्तर कोरियाली नेता किमलाई अमेरिकी मिडिया सिएनएनले गम्भीर बिरामी (थला परेको) भएको रिपोर्टको खण्डन गर्दै दक्षिण कोरियाली अधिकारीहरुले उनी बिरामी नभएको बताएका छन्।

सिएनएनको समाचारको खण्डन गर्दै दक्षिणका नेताहरुले उनी गम्भीर बिरामी नभएको बताए।

यसवाहेक, चिनियाँ नेताहरुले पनि किम बिरामी भएको हुन नसक्ने प्रतिक्रिया दिए। उत्तर कोरियाले आफ्ना सुरक्षा मामिला लगायत राजनीतिक सूचना गोप्य नै राख्ने गर्छ। उत्तरका सर्वोच्च नेता किमले नयाँ उत्तराधिकारी घोषणा गरेका छैनन्।

पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए।

किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो। उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ। त्यहाँ सार्वजनिक बिदा दिइन्छ। तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन्।

उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ। विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन।

अत्यधिक तौल, धुमपान र कामको चापले पछिल्लो केही समययता किमको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। गत अगस्टयता नै उनलाई मुटुको समस्या देखिएको बताइन्छ। किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्युरोमा सहभागी भएका थिए। त्यसपछि उनी अस्पताल भर्ना भएको समाचारहरूमा जनाइएको थियो।

यद्यपि उनले आफु शक्तिमा आएपछि पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय स्तरमा नयाँ र ऐतिहासिक सम्बन्ध स्थापित गरेका छन्। यस बीचमा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लगायत दक्षिण कोरियाली नेताहरुलाई समेत भेट गरिसकेका छन्।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन् ।

प्रकाशित मिति: : 2020-04-24 08:26:03

प्रतिकृया दिनुहोस्