कोरोना भाइरस विरुद्धको सम्भावित कोरोना भाइरस (कोभिड १९) खोपको मानवीय परीक्षण युरोपमा पहिलोपटक सुरु भएको छ। सम्भावित खोपको परीक्षण अक्सफोर्डमा सुरु भएको जनाइएको छ ।
भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ ।
उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ । परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ ।
कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि एक वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्ने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छन् ।
ग्रानाटाेले भनिन्, 'म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुकाे प्रक्रियालाई सहयाेग गर्नुपर्छ ।'
यसअघि उनले खोपले काम गर्छ भन्नेमा आफू ८० प्रतिशत ढुक्क रहेको बताएकी थिइन् । तरअक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै निर्माण गरेको खोप मानवीय परीक्षणमा गएको हो । 'याे खाेपप्रति मलाई एकदमै विश्वास छ', उनले भनिन् ।
उनले योपटक आँकडामा विश्वास व्यक्त गरेकी छैनन् । उनले आफू अति आशावादी रहेको उल्लेख गरेकी छन् ।
अक्सफोर्ड विश्वविद्यालयले यसअघि अर्को प्रकारको कोरोना भाइरस मर्सविरुद्धको खोप बनाएको थियो ।
यसअघि नै अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशमा पनि कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास भएका छन् र कम्तिमा तीन खोप मानवीय परीक्षणको तहमा पुगेका छन् ।