घर घरमा पुगेर बिरामी खोज्दै वडा सरकार

बिएल संवाददाता

रुकुम पश्चिम

लकडाउनका कारण अशक्त, अपांग, जेष्ठ नागरिक, गर्भवति, सुत्केरी तथा विभिन्न दीर्घ रोगीहरु समस्यामा परेको हुनसक्ने भन्दै जिल्लाको मुसीकोट नगरपालिका वडा नं.९ ले घर घरमा पुगेर वडावासीको अवस्था बुझ्न सुरु गरेको छ।

स्वास्थ्यकर्मी सहित घर घरमा पुगेर बिरामिको खोजी गर्ने, उनीहरुको स्वास्थ्य अवस्था तथा उनीहरुले प्रयोग गर्ने औषधिको अवस्था बुझ्ने र उपचार गर्ने गरिएको वडाध्यक्ष नविन ओलीले जानकारी दिए। वडाध्यक्षको नेतृत्वमा जनप्रतिनिधि र वडा स्वास्थ्यचौकी इन्चार्ज डिल्लीराज बोहोरा सहितको स्वास्थ्यकर्मीको टोली घरदैलो अभियानमा खटिएको छ।

विशेषगरी रूघा, खोकीलगायतका सामान्य स्वास्थ्य समस्या रहेका वडावासीलाई लक्षित गरेर यो अभियानको सुरुवात गरिएको वडाध्यक्ष ओलीको भनाई छ। लकडाउनका कारण स्वास्थ्य संस्थासम्म आउन नसक्ने र स्वास्थ्य संस्थाहरुमा ओपिडि सेवा बन्द रहेको अवस्थामा घर घरमै पुगेर स्वास्थ्य जाँच र उपचार सहित सचेतना फैलाउने काम वडाले गरिरहेको छ।

यसक्रममा वडाले वडावासीका गुनासा समेत सुनिरहेको छ। वडाले वडावासीसँग हिउँदेवाली भित्र्याउने विषयमा समेत छलफल गरिरहेको र आवश्यक सुझाव दिईरहेको वडाध्यक्ष ओलीले जानकारी दिए। आजबाट सुरु भएको अभियान १४ गते सकिने छ। 

प्रकाशित मिति: : 2020-04-23 17:04:06

प्रतिकृया दिनुहोस्