यतिखेर सारा विश्व (कोरोना) कोभिड १९ नामक नयाँ संक्रामक जीवाणुको कारण आक्रान्त छ।
विश्वका सबै देशहरू प्रत्यक्ष रूपमा यसबाट प्रभावित भएका छन्। चीनको वुहान शहरमा उत्पन्न भएर विश्वभर द्रूत गतीमा साम्राज्य फिजाँइसकेको कोरोना भाइरस निवारणको हालसम्म कुनै औषधि या खोप पत्ता लागेको छैन।
सम्पूर्ण देशले यसको रोकथामलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना नागरिकलाई एकअर्कासँग भौगोलिक दुरी कायम गर्न सुझाई देशभित्र तथा वाहिर आवतजावत प्रतिवन्ध गरेको छ।
रोग प्रतिरोध क्षमता बलियो बनाउन तातोपानी तथा भिटामिन ‘सी’ युक्त खाद्यपदार्थ सेवन गर्न चिकित्सकको सुझाव छ। विश्वभर महामारीको रूपमा फैलिएको यस कोरोना भाइरसको प्रभाव पूर्वका राष्ट्रमा भन्दा पश्चिमा राष्ट्रमा बढी परेको देखिन्छ। यस संक्रामक रोगले आधुनिक विज्ञान जगतमाथि चुनौती थपिदिएको छ, जीवाणु उत्पन्न भएको चार महिनाभन्दा बढी अवधि भइसक्दा पनि भौतिकवादमा तरक्की गरि उन्नत देशको रूपमा पहिचान स्थापित गरेका मुलुकका धुरन्धर वैज्ञानिक र चिकित्सकले समेत सोको औषधि या उपचारपद्धती पत्ता लगाउन नसक्नु र तीनै देशमा यसबाट ज्यादा नागरिकहरु संक्रमित हुनुले ती देशहरुको प्रणाली, दृष्टिकोण र जीवनशैलीप्रति नै प्रश्न उब्जिएको छ।
पश्चिमा राष्ट्रले पूर्वीय जीवनशैली पुरातन मान्यता, आध्यात्मिक चिन्तन र रूढीवादले ग्रस्त रहेकोले विकासमा पछि रहेको भनेर आलोचना गर्ने गर्छन्। केही पूर्वीय शासक र धर्माधिकारीले धर्मलाई आफू अनुकुल व्याख्या गरी जातिगत विभेद र रूढीवादी प्रथालाई समाजमा मान्यता दिएको कारण यही सानो अंशलाई आधार मानी समग्र पूर्वीय दर्शन र जीवनशैलीमै खोट देख्ने पश्चिमाले यतिखेर चैँ पूर्वीय जीवनशैली वैज्ञानिक र उन्नत रहेको भनेर प्रशंसा गर्न थालिसकेका छन्।
एक व्यक्तिले अर्को व्यक्तिसँग हात मिलाउँदा त्वचाको माध्यमबाट वा श्वासप्रश्वासको माध्यमबाट एक जनाबाट अर्कोमा संक्रामक रोग सर्नसक्ने हुँदा सोको सट्टामा दुवै वाहु जोडेर नमस्कार गर्ने पूर्वीय चलन यतिखेर बाध्यतावस पश्चिमाले अंगिकार गरिराखेका छन्। साथीभाइ वा अग्रज भेट हुँनासाथ अंकमाल गर्ने, हात मिलाउने र चुम्बन गर्ने पश्चिमाले कोरोनाको कहर रहुन्जेल मात्र नभइ अब उप्रान्त उक्त चलन त्यागेर नमस्कार गर्ने बानीको विकास गर्न सक्छन्।
त्यस्तै, खानपानमा प्रायः फ्रोजन र फर्मेन्टेड पिठोबाट बनाइएका ब्रेड, पिजा, पाउरोटी, चिप्स, कोल्ड ड्रिंक्सजस्ता जंकफुरु खाने पश्चिमाले अब आफ्नो खानपानको शैलीमा पुनर्विचार गर्नेछन्। हाम्रो पारम्पारिक खाना दाल, भात, तरकारी र अचार सर्वोत्कृष्ट आहार हो। भात कार्वोहाइड्रेट, दाल प्रोटिन एवं चिल्लो, तरकारी भिटामिन एवं मिनरल र अचार सुपाचक घटकले युक्त खानपान एक परिपूर्ण आहार प्याकेज हो।
खानाको पुरकको रूपमा खाइने घ्यू, दुध, दही, सलाद, फलफूल, अंकुरित गेडागुडी र रोग प्रतिरोध क्षमता बढाउने अमला, कागती, अदुवा, काजु, बदाम, ओखर, तिल, चाकु, मह, हर्रो, बर्रो, गुर्जोलगायतका गुणकारी खाद्यवस्तुको सेवनपूर्वीय जीवनशैलीको विशेषता हो। यही खानपानको शैली अंगिकार गरेका नेपाल, भारत लगायतका राष्ट्रका नागरिकमा विभिन्न कालखण्डमा देखिने नविन जीवाणु तथा किटाणुजन्य रोगहरुसँग प्रतिरोध गर्ने क्षमता तुलनात्मक रुपमा बढि छ।
पूर्वीय जीवनशैलीले अध्यात्ममाथि विश्वास राख्छ। उपासना, व्रत, पूजा, पाठ, चोखोनितो, सात्विक आहार, प्रार्थना, ध्यान, प्रणायाम, योग यसका विशेषता हुन्। अहिले आधुनिक रोगको रुपमा देखिएका मधुमेह, उक्त चक्तचाप, ग्यास्ट्राइटिस, कोलस्ट्रोल, अपच, कब्जियतजस्ता रोगको निवारणमा चिकित्सक हप्तामा कम्तीमा एकपल्ट उपवास बस्न सुझाउँछन् जुन संस्कार हाम्रो जीवनशैली नै बनेको छ।
व्रत, पूजा, पाठ, प्रार्थनाले व्यक्तिमा सकारात्मक सोच र पवित्र आत्मिक ऊर्जाको सञ्चय र प्रवर्धन गराउँछ जसबाट तनाव, थकावट, डिप्रेसनजस्ता मानसिक समस्याहरु न्युनीकरण हुन सक्छन्। अरूले पकाएको तथा छोएको नखाने, स्नान गरी चोखो बस्त्र लगाएर मात्र खाने, खाना ग्रहण गर्नुअघि खाना वरीपरी जल अच्माएर मात्रै खाने पूर्वजको चलन कोरोना भाइरसजस्तै संक्रामक रोगहरुबाट बच्नको लागि स्वस्थकर र वैज्ञानिक छ।
मांसाहारीकै कारण कोरोना फैलिएकोले यति बेला जंगली जनावरको मासांहारमा विश्व स्वास्थ्य संगठनले कडाइ गरेको छ। संक्रामक रोगमात्र नभै मांसाहारले उच्च कोलस्ट्रोल, मधुमेह, रक्तचाप, मुटुरोग, अल्सर, पेटसम्बन्धी जटिल रोगहरु उत्पन्न गर्ने हुँदा र यसले मान्छेमा क्रुरता, द्धेष, क्रोध, निरसता, कठोरता, हिंसा, व्याकुलता, मानसिक बेचैनी जस्ता नकरात्मक संवेगहरुको विकास गर्ने हुँदा शारीरिक स्वस्थता तथा आत्मिक पवित्रताको लागि समेत मांसाहार त्याज्य रहेको कुरा पूर्वीय आध्यात्मिक दृष्टाहरुले शताब्दिऔँ अघि उल्लेख गरेका हुन् ।
ध्यान, योग र प्राणायाम पूर्वीय दर्शनका महत्वपूर्ण अंग हुन्। ध्यानले व्यक्तिमा धैर्यता, एकाग्रता र सहनशीलता अभिवृद्धि गरी चीरस्थायी आध्यात्मिक सुख र शान्तितर्फ अग्रसर गराउँछ। पुर्वीय दार्शनिक पतञ्जलीले अन्वेषण गरेको योग र प्राणायमका लाभहरु शब्दमा व्यक्त गर्दा अपूर्ण हुन्छ।
पश्चिमाले व्यायाम भने, हामीले योग भन्यौं। झट्ट सुन्दा योग र व्यायाम उस्तै लागे पनि व्यायामको भन्दा योगको प्रभाव र गरिमा बढी छ। व्यायाम योगको एक प्रतिशत भन्दा सानो हिस्सा हो। व्यायामबाट शारीरिक तन्दुरूस्ती प्राप्त हुन्छ भने योगबाट शारीरिक, मानसिक र आत्मिक लाभ हुन्छ।
व्यायामको लक्ष्य भौतिक उपलब्धि हो भने योगको लक्ष्य आध्यात्मिक उपलब्धि हो। व्यायाममा जसरी भए पनि पसिना निकाल्ने र मांसपेशी तन्काउने ध्येय राखिन्छ, श्वासप्रश्वास र शरीरको लयबद्धताका बीच तालमेल हुँदैन तर योगाभ्यासका सम्पूर्ण आसन, प्राणायाम, मुद्रा, बन्ध र षट्क्रियाहरुमा श्वासप्रश्वासको लय र शारीरिक प्रभावलाई गहनतापूर्वक ध्यान दिइन्छ।
त्यसैले, व्यायामभन्दा योग गहन र परिपूर्ण छ। यहीँ तथ्यलाई मध्यनजर गरेर आजभोलि पश्चिमाहरु योगतर्फ आकर्षित भएका छन्। सन् २०१५ देखि संयुक्त राष्ट्रसंघले समेत जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिई योगको महत्व र गरिमालाई प्रवद्र्धन गरेको छ।
एकाध कमजोर पक्षको आड लिई पूर्वीय दर्शन र जीवनशैलीलाई पश्चगमन उन्मुख, पुरातन र रूढिवादी संस्कारको दर्जा दिने पश्चिमालाई हाम्रा जीवनशैलीभित्र रहेका वैज्ञानिक, व्यवहारिक र स्वस्थकर संस्कारबारे यतिखेर प्रकृति स्वयम्ले सिकाउँदैछ।
तथापी, पूर्वीय जीवनशैली र संस्कार भित्रका जातिगत विभेद, केही खराब रीति र प्रथा हटाई यसलाई थप परिमार्जनद्धारा अद्यावधिक गरी पूर्वीय जीवनशैलीको विहंगम रहस्य, महत्व र गरिमालाई संसारभर परिचित गराउन आवश्यक छ।
लेखक चापागाई वीरगन्ज महानगरपालिकाका प्रशासकीय अधिकृत हुन्।