पार्टीभित्रैबाट चर्को विरोध भएपछि अध्यादेश फिर्ता लिँदै प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएपछि  प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार कार्यबाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीवीच अध्यादेशबारे छलफल भएको थियो।

छलफलमा प्रचण्डले ओलीलाई अध्यादेश फिर्ता लिनुको विकल्प नभएका बताएका थिए। उनले स्थायी समितिका सदस्यहरूको धारणा अनुसार बैठक बोलाउन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

 यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन सुझाव दिएका छन्।

दुबै नेताको दबाबपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले बतायो। प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ।

प्रधानमन्त्री ओलीले आजै राष्ट्रपतिलाई अध्यादेश खारेजीका लागि पत्र पठाउन सक्ने स्रोतले बतायो।

वैशाख ८ गते सरकारले ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश जारी गरेको थियो।

त्यस्तै संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान सहितको अर्को अध्यादेश समेत जारी गरेको थियो।
 

प्रकाशित मिति: : 2020-04-23 13:04:30

प्रतिकृया दिनुहोस्