समाजवादी नयाँ दल दर्ता गर्न आयाेगमा, रेणु समूहसँग एक सा‌सद् नपुग्दा अन्याैल

समाजवादी पार्टीकी उपाध्यक्ष सांसद रेणु यादवको समूह दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेको छ।

बुधबार मध्यरातमा राजपा र समाजवादी पार्टी मिलेर एक भएपछि पार्टीका सात जना सांसद्ले संसदीय दल विभाजन गरी अलग्गै पार्टी बनाउने निर्णय गरेसँगै उनीहरु बिहीबार निर्वाचन आयोग पुगेका हुन्। तर एक जना सांसद् कम हुँदा पार्टी दर्ता नभएको आयोगले जनाएको छ।

नयाँ पार्टी बनाउने निर्णय गर्ने सांसद्हरुमा उपाध्यक्ष यादव, सांसद महम्मद इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ  छन् ।

पार्टी विभाजनकै लागि महोत्तरीमा रहेका सांसद डा. सुरेन्द्र यादव सडकमार्ग हुँदै राति नै काठमाडौं आइपुगेका थिए। 

यादव जनकपुरबाट एक्कासि सम्पर्कबिहीन भएपछि समाजवादी पार्टीले उनलाई सरकारको निर्देशनमा प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो। तर उनी अपहरण मुक्त भइरसकेको पार्टीले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-23 10:58:14

प्रतिकृया दिनुहोस्