पोखरामा न्यायिक उजूरी अनलाइनबाटै

पोखरा महानगरपालिकामा अब अनलाइनमार्फत न्यायिक उजूरी दिन सकिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण परिस्थिति असहज भएपछि  न्यायिक समितिसमक्ष अनलाइनमार्फत उजूरी दर्ता गराउन सकिने व्यवस्था गरिएको  महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्।

पोमपा, न्यायिक समिति संयोजक गुरुङका अनुसार अनलाइनमा ns.pokharamun@gmaI.com मार्फत उजूरी दर्ता गर्न सकिन्छ। कोरोना रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले अनलाइनमार्फत उजुरी लिने निर्णय गरेको थियो । महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समितिसमक्ष अनलाइनमार्फत दर्ता उजूरीको सम्बोधन गर्ने निर्णय गरेको गुरुङले जानकारी दिइन्।

उनका अनुसार लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइनमार्फत उजूरी दर्ता गर्ने व्यवस्था मिलाएको हो । स्थानीय तहका विवाद  तलै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै  समितिको व्यवस्था गरिएको छ । 

संविधानमा समितिमा महानगरका उपप्रमुख संयोजक र दुई सदस्य रहने व्यवस्था  छ । समितिलाई १३  विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउने पाउने अधिकार छ ।

प्रकाशित मिति: : 2020-04-21 10:06:05

प्रतिकृया दिनुहोस्