मन्त्रिपरिषद्को कार्यालयद्वारा कोभिड–१९ बारे सुझाव दिन आग्रह

सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यहाँ सञ्चालन भएको ‘कोभिड—१९ इमर्जेन्सी अपरेशन सेन्टर’मा कोरोनासँग सम्बन्धित कुनै सूचना, सुझाव, समस्या भएमा पत्राचार गर्न आज अनुरोध गरेको छ।

प्रदेश सरकारले गरेको निर्णयबमोजिम कोरोनाको उपचार, नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिकार्य, उद्धार, समन्वय र सहजीकरण गर्नका लागि उक्त अपरेशन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा व्यवस्था गरिएको निःशुल्क हटलाइन नं ११४८ मा अथवा इमेल ठेगाना covideoc72gmail.comमा रोगसँग सम्बन्धित कुनै सूचना, सुझाव, समस्या, गुनासा भएमा पत्राचार गर्नहुन कार्यालयले अनुरोध गरेको हो ।

एकजनाको नतिजा ‘इरर’

सुदूरपश्चिम प्रदेशमा आरडिटी पद्धतिबाट गरिएको कोरानाको नमूना परीक्षणमा एक व्यक्तिको नतिजा ‘इरर’ (केही नदेखिएको) पाइएको छ। प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले आज आयोजित ‘मिडिया ब्रिफिङ’मा डडेलधुराका एक पुरुषको आरडिटी पद्धतिबाट नै गरिएको परीक्षणमा पोजिटिभ नतिजा देखाउँदा पिसिआर पद्धतिको नजिता नेगेटिभ आएको जानकारी दिएका हुन्।

प्रदेशमा आजसम्ममा पिसिआर पद्धतिबाट दुई हजार ५७८ को थ्रोट स्वाबको नमूना सङ्कलन गरिएकामा दुई हजार ५०१ को नतिजा नेगेटिभ आएको छ। यही पद्धतिबाट गरिएको परीक्षणबाट नतिजा पोजिटिभ भएको पुष्टि भएका पाँचजनामध्ये कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक राज विक सङ्क्रमणमुक्त भई आइतबार घर फर्किएका छन्।

सेती प्रादेशिक अस्पतालमा उपचाररत उनलाई आज बिदाइ गरिएको छ। दोस्रो र तेस्रोपटक गरिएको कोरोना नमूनाको परीक्षणबाट नतिजा नेगेटिभ आएपछि विकलाई आज घर पठाइएको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए।

भारतबाट आएका विकको नमूना पहिलो परीक्षणबाट चैत २२ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो। उपचाररत अन्य चारजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। यस्तै आरडिटी पद्धतिबाट आजसम्म पाँच हजार ५७९ जनाको नमूना सङ्कलन गरी जाँच गर्दा पाँच हजार ५७७ को नतिजा नेगेटिभ आएको छ।

प्रकाशित मिति: : 2020-04-19 23:09:46

प्रतिकृया दिनुहोस्