कोरोनाका कारण विदेशमा २८ नेपालीकाे निधन, १ हजार बढी संक्रमित

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म २८ नेपालीको ज्यान विदेशमा गएको गैरआवासीय नेपाली संघ (एनआएएन) ले जानकारी दिएको छ। 

नेपालभित्र भने हालसम्म कसैले ज्यान गुमाउनु परेको छैन। विदेशमा सबैभन्दा बढी ज्यान गुमाउने नेपालीहरू मध्ये बेलायत पहिलो सूचीमा रहेको छ। यहाँ १७ नेपालीको ज्यान गइसकेको छ। दोस्रोमा अमेरिका छ भने यहाँ ८ नेपालीको मृत्यु भइसकेको छ। युएईमा २ र आयरल्यान्डमा १ नेपालीले ज्यान गुमाएका छन्। 

एनआरएनको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विश्वभरिबाट १ हजार १ सय ६६ गैरआवासीय नेपाली कोरोनाको संक्रमणबाट प्रभावित भएका छन्। यसमा २१ देशमा छरिएर रहेका नेपाली छन्। 

हालसम्म अमेरिकामा ७ सय, बेलायतमा २ सय, युएईमा ७१, आयरल्यान्ड र पोर्चुगलमा २२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, बेल्जियममा ४, मलेसिया र क्यानडामा ३, माल्टामा २ संक्रमित फेला परेका छन्। फ्रान्स, जापान, म्यानमार र हङकङमा १–१ जनामा संक्रमण देखिएको छ। 
 

प्रकाशित मिति: : 2020-04-19 11:33:48

प्रतिकृया दिनुहोस्