आन्ध्रप्रदेशका मुख्यमन्त्रीको ‘कोविड १९’ परीक्षण, रिपोर्ट नेगेटिभ

भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले आफ्नो पनि कोविड १९ को परीक्षण गराएको र उनलाई उक्त भाइरसको संक्रमण नदेखिएको जनाइएको छ । 

उनले शुक्रबार र्‍यापिड टेष्टमार्फत आफ्नो परीक्षण गराएको बताइएको छ । दक्षिण कोरिया सरकारले आन्ध्रप्रदेशलाई दिएका र्‍यापिड टेष्ट किटबाट आफ्नो पनि परीक्षण गराइएको समाचारमा जनाइएको छ । 

दक्षिण कोरिया सरकारले आन्ध्रप्रदेश सरकारलाई एक लाख र्‍यापिड टेष्ट किट उपलब्ध गराएको थियो । दक्षिण कोरियाबाट विशेष विमान चार्टर गरेर ती किटहरु ल्याइएको समाचारमा जनाइएको छ । 

आन्ध्रप्रदेश राज्य सरकारको सचिवालयले दिएको जानकारी अनुसार ती किटहरुका माध्यमबाट अब उक्त राज्यका विभिन्न सम्भाव्यस्थलहरुमा घरघरमै पुगेर परीक्षण गरिने छ । 

सो परीक्षणपछि १० मिनेटमा नै रिपोर्ट आउने बताइएको छ । यो परीक्षण किटलाई प्रभावकारी मानिएको छ । छोटो समयमै यसको संक्रमण थाहा पाउन सकिने भएकोले यो परीक्षणबाट यहाँ कोविडको सम्भावित संक्रमण रोक्न सहयोग पुग्ने बताइएको छ । 

शुक्रबार ती किटहरु आन्ध्रप्रदेश राज्य सरकारलाई हस्तान्तरण गरिएको थियो । शुक्रबारै ती किटबाट परीक्षणको आरम्भ मुख्यमन्त्री रेड्डीलाई परीक्षण गरेर शुरु भएको थियो । 

प्रकाशित मिति: : 2020-04-18 13:59:14

प्रतिकृया दिनुहोस्