लकडाउन हटाउन माग गर्दै अमेरिकामा बन्दुकसहित विरोध प्रदर्शन, ट्रम्पले गरे समर्थन

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन्। ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् ।

बिहीबार ट्रम्प प्रशासनले लकडाउन हटाउने योजना सार्वजनिक गरेको भोलिपल्ट प्रदर्शन भएका हुन् । बिहीबार पनि उनले प्रदर्शनकारीको समर्थन गरेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् । त्यसको विरोधमा ट्रम्प समर्थकहरुले बन्दुकसहित बाहिर निस्किएर प्रदर्शन गरेका हुन् ।

लकडाउन अन्त्य गर्न माग गर्दै मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा प्रदर्शन भएको हो । 

यसअघि ट्रम्पले राज्यमा प्रतिबन्ध हटाउनेबारे आफूले नै निर्णय लिनसक्ने बताएका थिए। यद्यपि, पछि उनी यसको निर्णय राज्यका गभर्नरको हुनुपर्ने र संघीय सरकार यसमा दिशानिर्देशमात्र जारी गर्न सक्ने कुरामा राजी भएका थिए ।

प्रदर्शनकारीले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको र त्यसले नागरिकलाई समस्यामा पारेको बताएका छन् । ट्रम्पले ट्वीट गरेर प्रदर्शनकारीको समर्थन गर्दै लकडाउन खुकुलो पार्न माग गरेका हुन् । उनले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्नु पर्ने भन्दै ट्वीट गरेका छन् ।

तर स्वास्थ्य अधिकारीले भने लकडाउन हटाएमा वा खुकुलो पारेमा संक्रमण थप फैलिन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकामा शुक्रबार पनि २५ सय भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३६ हजार ७७३ भन्दा बढी रहेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा झण्डै सात लाख पुगेको छ।
 

प्रकाशित मिति: : 2020-04-18 08:24:18

प्रतिकृया दिनुहोस्