‘रिजर्भ बैंक अफ इन्डिया’ द्वारा पाँच खर्ब भारुको वित्तीय प्याकेज घोषणा

काठमाडौं : भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले पाँच खर्ब भारतीय रुपैयाँ (५० हजार करोड भारु) को आर्थिक तथा वित्तीय प्याकेज घोषणा गरेको छ । सरकारले लक डाउन अवधि तीन साता थप गरेपछि केन्द्रीय बैंकले आर्थिक तथा वित्तीय प्याकेजको घोषणा गरेको हो ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले ‘लक्षित दीर्घकालीन रिपो अपरेसन’ को माध्यमबाट ५० हजार करोड रुपैयाँ लगानी गर्ने बताएका छन् ।

उनले राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नबार्ड), नेसनल हाउजिङ बैंक र स्मल इन्डिस्ट्री डेभलपमेन्ट बैंक (सीडीबी) लगायत वित्तीय संस्थानका लागि ५० हजार करोड भारतीय रुपैयाँको रिफाइनान्सिङ दिने घोषणा गरे । जसअनुसार राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंकलाई २५ हजार करोड, स्मल इन्डस्ट्री डेभलपमेन्ट बैंकलाई १५ हजार करोड र नेसनल हाउजिङ बैंकलाई १० हजार करोड भारतीय रुपैयाँ दिइने छ ।

 

आरबीआईले रिभर्स रिपो रेटमा २५ बेसिस पोइन्ट अर्थात् ०.२५% को कटौती गरेको जनाएको छ । यसअनुसार रिभर्स रिपो रेट घटेर ३.७५% मा आएको छ ।

यसअघि घोषणा भएको प्याकेजमा बैंकले रिभर्स रिपो ९० बेसिस पोइन्ट अर्थात् ०.९०% कटौती गरेर यसलाई ४ प्रतिशतमा ल्याइएको थियो ।

लकडाउनले उद्योगधन्दा ठप्प भएका छन् । साना तथा मझौला व्यवसाय पनि सञ्चालन हुन सकेको छैन । रिफाइनान्सिङ सुविधापछि ऋणी तथा अन्य सेवाग्राहीले ब्याजदरमा सहुलियत तथा कर्जा तिर्ने समय थप्ने लगायतका सहुलियत पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानीमा अब छुट तथा सहुलियत दिन सक्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । 

प्रकाशित मिति: : 2020-04-17 21:05:29

प्रतिकृया दिनुहोस्