कोभिड- १९ : निर्वाचन क्षेत्र विकासको रकम कोरोना रोकथाममा खर्चन माग

पोखरेलीहरूले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेका छन्। 

राहत वितरणको अनुगमनका क्रममा पोखरा महानगरपालिकाको वडा नं १ र २ मा पुगेका गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ सँगको छलफलमा स्थानीयवासीले सङ्क्रमण रोकथाम अहिलेको मुख्य अवश्यकता भएको भन्दै उक्त नमाग गरेका हुन्।

वडाध्यक्षसहितका प्रतिनिधिसँगको छलफलमा सहभागीले लकडाउनका कारण मानसिकरूपमा धेरै त्रास भएको बताउँदै कृषि उत्पादनका साथै अन्य उत्पादन गर्ने उद्योगलाई कोरोना सङ्क्रमणप्रति सचेत बन्दै सामाजिक दूरी कायम गरी सञ्चालनको वातावरण मिलाउन माग गरेका थिए।

देशको विद्यमान समय र परिस्थिति एवं जनचाहनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्दै प्रदेशसभा सदस्य बरालले भने, 'प्राप्त सकारात्मक सुझावलाई प्रदेशसभा तथा सरकारमा पुर्याउनेछौं।' विश्वव्यापीरुपमा फैलिएको भाइरसको सङ्क्रमणबाट आफू बच्नु र अरुलाई बचाउनु वर्तमानको आवश्यकता भएको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2020-04-17 08:05:49

प्रतिकृया दिनुहोस्