संसारभरि महामारीको रुप लिएकाे कोरोना भाइरस (कोभिड–१९) को नराम्रो असर ज्यालादारी श्रमिकको दैनिकीमा परेको छ। काम गरे मात्र ज्याला पाउने श्रमिकहरु यति बेला फुर्सदिला भएका छन् भने उनीहरुको स्रोतमा बुजो लागेको छ।
कर्मचारी, शिक्षक तथा अन्य पेसाकर्मीको काम प्रभावित भए पनि स्रोतमा समस्या आएको छैन। बरु काम दिने सरकारी तथा गैरसरकारी निकायको माग प्रभावित भएको छ। संसारभरको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने विश्व बैंकको सर्वेक्षण छ।
अर्थतन्त्रमा परेका असर विस्तारै कम हुँदै जानेछन्। तर श्रमिकको ज्याला पूर्ति हुुने छैन। बन्दाबन्दीले उनीहरुको दैनिक आउने रकम पनि बन्द भएको छ। यसैबीच बिएल नेपाली सेवाले चन्दननाथ नगरपालिका–१० का केही ज्यालादारी सिकर्मीको दैनिकी र घर खर्च कसरी चलिरहेको छ? सुरक्षित हुन अपनाएका उपायहरु के के छन्? यस्ता प्रश्न साेधेकाे थियाे। उनीहरुसँग भएकाे कुराकानीकाे सारसंक्षेप यस्ताे छः
गोविन्द नेपाली
आज १७ दिन भयो घरमा बसेको। काम केही छैन। त्यतिकै घर बस्ने मात्रै हो। कहिलेकाहीँ बारीमा बस्ने अनि कोठामा बस्ने भइरहेको छ। आम्दानी पनि केही छैन। समय कटाउन गाह्रो छ। कुरा यिनै हुन्, अरु के भनु। सरकारले राहत पनि दिएको छैन। न चामल, न कुनै वस्तु केही दिएको छैन। अस्ति वडाले माक्स र साबुन दिएको थियो।
समय बिताउन साह्रै गाह्रो भयो। काम धन्दा नभएपछि साह्रै चिन्ता लाग्ने रहेछ। श्रीमती,छोराछोरी छन्। घरदेखि दरसम्म सबै बाँझै भैगो। काम नगरी खान पुग्दैन। कोरोनाको मार सबैभन्दा बढी हामीलाई नै पर्यो। काम गरेर खाने मान्छेलाई सबैभन्दा बढी समस्या हुने रहेछ।
पैसा हुनेले बेसाह गरी खान्छन्। पैसा नहुनेले भोको बस्नु पर्ने अवस्था छ। घर परिवार पाल्न गाह्रो छ। पहिला घरमा भएका एक दुई कट्टीचामलले पालियौं। अहिलेसम्म बन्द हुनुभन्दा अगाडि कमाएको ज्यालाले खाइयो। अब त पैसा पनि सकियो। खाने कुरा पनि कमी भइरहेको छ।
माक्स अनिवार्य लगाउने, भिडभाड नगर्ने, कसैको घरमा नजाने, जीव जन्तुसँग नटासिने,आफ्नै घरमा आफ्ना बाल बच्चाहरुसँग बस्ने। यति गर्यो भने सुरक्षित भइन्छ होला। खाना होस् नहोस् रमाइलोसँग बसिरहनुपर्यो। यसरी बाँचिन्छ भन्ने सुनेको छु। तर, खासमा त खाना खाएर बाँचिने हो। खाना छैन भने के गर्न सकिन्छ होला र? बाहिर कुुनै गाउँपालिकामा चामल, दाल बाडीरहेको छ भन्ने सुनिन्छ। यता त्यस्तो केही छैन। हामी के गर्ने दोधारमै छौं।
खड्क सार्की
म जुत्ता सिलाएर खाने मान्छे हुँ। खलंगा बजारको सडक पेटिमा जुत्ता सिलाउँछु। बन्द भएदेखि बजार जान पाएको छैन। दैनिक तीन चार सय आम्दानी हुन्थ्यो। त्यो सबै रोकियो।
अरु काम गर्न सक्दिन। पहिला त ठिकै थियो। अहिले खुट्टामा समस्या आयो। बोली पनि प्रष्ट नाई। घरमा दुई छोरा र श्रीमती छन्। जग्गा जमिन त्यस्तै हो। कम छ। म मात्रै होइन सबैको समस्या यस्तै हो।
अहिलेसम्म कसैले केही सहयोग गरेको छैन। वडाबाट दिएको कपडाका माक्स र साबुन नै हामीले पाएको सहयोग हो। अरु के भनाैं। यस्तै बन्द भइरहने हो भने बाँचिएला जस्तो छैन।
सबै माक्स लाउँछन्। हामी पनि माक्स लाइरहेका छौं। सुरक्षित हुने उपाय यही हो भन्ने सुनेका छौं। अरु त केही छैन। खेती किसानीको समय छ। आइमाइहरु काम गर्न गइरहेका छन्। भन्न त धेरै मान्छेसँगै नहुनु भन्छन् तर सँगै नभईकन पनि सुख छैन।
इन्द्र सार्की
१५–१६ दिन भइसक्यो काम रोकिएको। नोक्सान धेरै भइसक्यो। यति भयो भनेर गन्ती छैन। काम गरेर खाने मान्छेको काम रोकिएपछि खाना पनि रोकिन्छ। अहिले बस्न्या र खान्या काम छ। घरमा भएको घट्दैछ। आम्दानी ठप्पै भइगो। झर्को बढेको बढ्यै छ।
राहत हालसम्म पाइएको छैन। कतैबाट पाएको भए सजिलो हुन्थ्यो। यत्ति बन्द हुन्जेल सम्मको भएपनि हामीलाई भइहाल्थ्यो। खुल्यो भने त नापानापा भएपनि कमाइ भइजान्थ्यो। हामीलाई सँधैभरी गासकै चिन्ता हो।
संकट परेको बेला सरकारको आश लाग्ने रैछ। तर वडा सरकारका मान्छे कपडाका माक्स र साबुन ल्याइकन आउँछन्। अब आश मान्नु पनि कसको?
मेरो घरमा बा, चार छोरी, एक छोरो र श्रीमती छन्। उनीहरु सबैको खर्च मैले नै जुटाउनु पर्छ। यस्तो अप्ठेरो रोग आयो। एक जनालाई लाग्यो भने सारालाई लाग्ने रहेछ। यो रोगबाट बाँच्न भनेर संसारभरि यस्तै बन्द भएको रहेछ। बाँच्ने उपाय पनि घरमै बस्नु रहेछ। तर भोकै घरभित्र बस्न सकिएला त? खान नपाएर मर्नु र रोग लागेर मर्नु उस्तै त हो। आखिर ज्या गरिकन भएपनि मर्नै हो भन्ने समय आउन्या जस्तो छ।
सबै ठाउँका हामीजस्तै काम गरिखाने मान्छे पनि यसरी रोकिएका रहेछन् भनेर चित्त बुझाउछु। मास्टर, कर्मचारी, जागिरेको त काम नगरेपनि पैसा आइजाला हाम्रो क्या आउन्या छ र? हाम्रा पीरमर्का यस्तै त हुन।
कलिमान नेपाली
लकडाउन भएदेखि हाम्रो धेरै नोक्सान भइसक्यो। १७ दिन भयो काने पैसो कमाइ भएको छैन। बसाबस छ। घरतिर चामल पनि छैन। बजार जान दिन्नन्। गया पनि पैसा आउने ठाउँ छैन। गाउँघरमा काम छैन। जंगलतिर जान पाइदैन।
धेरै समस्या छ हामीलाई। यो गाउँतिर पनि धेरै समस्या छ। कसैले चामल बाँडे भन्छन्। गर्ज्यांकोट, तातोपानीमा चामल यताउता बाँडे भन्ने सुनिन्छ। हामीलाई कसैले चामल बाँड्या पनि छैनन्। केही गर्या पनि छैनन्। धन भएको मान्छेले त खायो होला, जसरी पनि। हामीहरुको त केही पनि छैन। नेता पनि कोही आएका छैनन्।
हामीले पाएको माक्स हो। यही माक्स लाएरै सुरक्षित हुने हो। हामीहरु आफ्नो घरदेखि बाहिर जाँदैनौं यही त हो। सरकारको केही न केही हामीलाई मद्दत गर्न चाह्यो भने बाँचिएला। यहाँ त रोगभन्दा बढी मान्छे भोकले मर्छन् जस्ते लागिरहेको छ।
विर्ष सार्की
काम केही गरेको छैन। बस्याछु। माक्स लगायछु। यही हो। जो दिन किनेर खाउँला भनेका थियौं, त्यही दिन बन्द भैगो। अलिअलि छियो (थियो), त्यही पनि सकियो। अब किनेर खानलाई पैसा छैन। एक रोटी खानेमा आधाआधा रोटी खाएर बस्याछु।
जिउको सुरक्षाको लागि माक्स लगाायाका छौं। लकडाउनमा यताउता गएका छैनौं। भनेको मानेका छौं। राहत त केही पाएका छैनौं। गरिब गुरुवाहरुलाई संकट परेको बेला कोही सहयोग गर्दैनन्। यस्तै छ, गरिब दुखीहरुको हालत। काम गर्न पनि सकिन्न, के गररेर बाँचिन्छ। गाह्रै छ सबैतिर। लकडाउन कहिलेसम्म चन्ले हो, कहिलेसम्म हामीले दुःख पाउन्या हौं, ठेगान छैन।