कोरोना भाइरस संक्रमणका कारण चर्चामा रहेको काठमाडौंको पेप्सीकोलास्थित काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्ट सामान्य अवस्थामा फर्किएको छ। गत सोमबार बेलायतबाट आएका एकै परिवारका ३ सदस्यमध्ये दुईमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि सरकारले तत्कालै अपार्टमेन्टलाई सिलबन्दी गरेको थियो। तर, बुधबार सनसिटीभित्र बसोबास गर्ने २ सय २८ जनामा कोरोनाको कुनै लक्षण नदेखिएपछि बिहीबारदेखि यहाँको जनजीवन पुरानै अवस्थामा फर्किएको हो।
बेलायतबाट चैत्र ५ मा फर्किएका तीन नेपालीमध्ये दुईमा संक्रमण फेला परेको थियो। हाल तीन जनालाई नै पाटन अस्पतालको ‘आइसोलेसन’ वार्डमा राखेर उपचार भइरहेको छ। संक्रमण फेला परेकोमा ८१ वर्षीय आमा र ५९ वर्षीय छोरा रहेका छन् भने बुहारीमा कुनै प्रकारको संक्रमण देखिएको थिएन।
यसअघि यही अपार्टमेन्टभित्र बसोबास गर्ने विदेशबाट आएका ६ जनालाई मनोहरामा गरिएको र्यापिड टेस्टमा तीन जनाको रिपोर्ट सकारात्मक फेला परेको थियो। पछि टेकु अस्पतालमा स्वाब टेस्ट गर्दा दुईमा फेला परेको र एक जनामा पाइएको थिएन।
यसपछि सिलबन्दी भएको अपार्टमेन्टको ‘ए’ ब्लकमा बसोबास गर्ने सबै, गार्ड तथा पहिलेदेखि नै स्वास्थ्यमा अरु किसिमको समस्यादेखिएका गरेर २ सय ९८ जनामा गरिएको परीक्षण नकारात्मक पाइएको थियो।
कोरोना भाइरस संक्रमित २ जना ‘ए’ ब्लकको १५०१ फ्लाटमा बसोबास गर्दै आइरहेका थिए। यसैले ‘ए’ ब्लकमा बसोबास गर्ने सबैको र्यापिड टेस्ट गरिएको थियो। संक्रमित कहाँ कामदारका रुपमा रहेका दुई युवाको परीक्षण पनि नकरात्मक पाइएपछि बिहीबार बिहानदेखि प्रहरीले कडा निगरानी हटाएको छ।
सरकारले बिहान दैनिक उपभोग्यवस्तु किनमेल गर्न दिने गरेको समयमा बिहीबार अपार्टमेन्टमा रहेका केही व्यक्तिले बाहिर गएर दुध तथा तरकारीहरू खरिद गरेका थिए। यस्तै अपार्टमेन्ट भित्र हिँडडुल गर्दा समाजिक दूरी कायम गर्न भनिएकाे छ।
पाँचवटा ब्लक रहेको सनसिटीमा हाल १२ सयको हाराहारीमा मानिसहरू बसोबास गर्दै आइरहेका छन्।