लकडाउनले पशुपालन व्यवसाय चौपटः ‘बिक्दैन दूध, पाइँदैन दाना’

बाँकेको कोहलपुर नगरपालिका –१२ चप्परगौडीकी शारदा सृजनशील गाई फार्म छ। सञ्चालक शारदा शर्मा हुन्। १८ वर्षदेखि उनी गाईको मल सोहोर्दै  दैनिकी बिताइरहेकी छिन्। लकडाउनमासमेत उनको दैनिकी निरन्तर चलिरहेको छ। 

जिल्लामा सफल पशुपालन व्यवसायी तथा दूध उत्पादन गर्ने  सफल उद्यमी  मध्ये एक हुन् उनी।  अहिले सिंगो विश्व नै कोरोना भाइरसका महामारीका कारण ‘लकडाउन’ मा छ। नेपाल समेत २४ दिनदेखि लकडाउनमा छ। 

अझै कोरोना भाइरसका सन्त्रासका कारण वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याएको छ। निरन्तर लकडाउन लम्बिँदा उनको दूध बिक्न छाडेको छ। त्यो भन्दा पनि फार्ममा रहेका गाईको लागि दाना र पराल अभाव हुँदै गएको छ। 

लकडाउनभन्दा पहिले हरेक दिन झण्डै ६० देखि ७० लिटर दूध बजारमा बिक्री गर्दै आएका थिइन्। अहिले उनको २० देखि २५ लिटरसम्म मात्रै मुस्किलले दूध बिक्छ। ‘लकडाउन भएपछि आधाभन्दा बढी दूध बिक्री हुन छोड्यो।  दाना नहुँदा उत्पादन समेत घटेको छ ’, निराश हुँदै उनले भनिन्, ‘अब त पुरै दूध खेर जाने भयो, दूध बिक्रि भएको छैन। जनावरहरुको बिजोग नै भएको छ।’

हाल उनको गोठमा २३ वटा जर्सी र होलिस्टेन प्रजातिको गाई छन्। निकै लामो समय दुःख, कष्ट झेल्दै व्यवसाय सञ्चालन गरिरहेकी शारदाको व्यवसाय चौपट भएको छ भने उनी तनावमा छिन्।

‘दाना र परालको समस्या भइरहेको छ गाईलाईंं दाना र घाँस नभएकाले मर्ने अवस्थामा पुगेका छन्।  एक दुई दुुुहुँनो गाई र दुई चार लिटर दूध भएको भए गाह्रो थिएन। के गरौं र कसो गरौंको स्थितिमा छु म त, न बिक्छ दूध, न पाइन्छ दाना,’ उनले निराशा पोखिन्। 

अहिले शर्माको दूध व्यवासाय पुरै प्रभावित भएको हो । ठेक्का दिएको दूध बिक्रि भए पनि डेरी मार्फत बिक्रि गरिरहेको दूध बिक्नै छोडेको उनले बताइन्। सबैभन्दा ठूलो समस्या दाना र पराल र घाँसको समस्या भएको छ। ७ वटा दुहुना गाईको दूध उत्पादन  घटेर ४० लिटरसम्म आएको छ। 

१५ देखि ३२ लिटरसम्म दूध दिने गाईको दूध घटेको छ। ६ वटा गाई व्याउने क्रममा छन् भने  ७ वटा एक बेद पनि नव्याएका छन्। ‘पहिलाको परालले काम चलिरहेको छ, मुस्किलले एक साता धान्छ होला। लकडाउन लम्बियो भने त समस्या हुने अवस्था आइसक्यो,’ उनले बिएल नेपाली सेवासँग भनिन्। 

पहिला दैनिक ४ हजार आम्दानी हुन्थ्यो अहिले  मुस्किलले २ हजार पनि कमाई नहुने उनले बताइन्।

निकै सुरक्षाका साथ पशुहरुको स्याहारमा आफू लागिरहेको उनको भनाई छ। लामो समयदेखि निकै दुःख गरेर पालेका गाई मर्छन् भन्ने चिन्ताले सताउन थालेको छ। बैंकहरुको कर्जा लिएर थालेको व्यवसाय लकडाउनले धरापमा पारेको उनको भनाई छ। यो अवधिमा व्यवसायीको लागि सरकारले व्याज मिनाहा गरिदिए पनि सहज हुने उनले बताइन्। 

प्रकाशित मिति: : 2020-04-17 06:59:00

प्रतिकृया दिनुहोस्