काठमाडौं। ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ का अध्यक्ष देवी ज्ञवालीसहित सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज पद तथा गोपनीयताको सपथ गर्दै छन् । बालुवाटार स्रोतका अनुसार, अधिकार सम्पन्न उच्चस्तरीय उक्त आयोगका पदाधिकारीको बालुवाटारमा ११ बजे सपथग्रहणको कार्यक्रम राखिएको छ।
ज्ञवाली भरतपुर नगरपालिकाका पूर्व उपमेयर हुन् । उनी ०५४ सालदेखि ०५९ सालसम्म उपमेयर थिए । साविक एमालेका पुराना कार्यकर्ता उनले ०४६ सालअघि नारायणी अञ्चलका विभिन्न जिल्लामा भूमिगत भएर पार्टी संगठनको काम गरेका थिए ।
०७४ सालको स्थानीय तहको चुनावमा उनी भरतपुरको मेयरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए। मतगणनाका बेला मतपत्र च्यातेर पुनः निर्वाचन गराएर हराएको चर्चा नेकपाभित्र अझै सेलाएको छैन ।
साविक माओवादी र कांग्रेसकी साझा उम्मेद्वार रेणुलाई जसरी पनि जिताउन प्रचण्डले ‘साम, दाम, दण्ड, भेद’ सबै प्रयोग गरिएको र अन्तिममा मतगणनासमेत बिथोलिएको थियो ।
त्यसलगत्तै भएको संघीय संसद्को चुनावमा एमाले माओवादी गठबन्धनको साझा उम्मेद्वार भए प्रचण्ड । उक्त चुनावमा ज्ञवालीले बदला लिने अपेक्षाविपरीत उनी प्रचण्डको झोला बोकेर प्रचारमा हिँडेका थिए । ज्ञवालीलाई 'इख नभएको मान्छे' भन्दै आलोचना गर्ने अझैसम्म छन् ।
उनी ०४६ सालपछिको १५ औं आयोगका अध्यक्ष हुन् । ज्ञवालीलाई राज्यमन्त्रीसरह सुविधा दिने निर्णय सरकारले गरेको छ । सदस्यहरुले विशिस्ट श्रेणीसरह सेवासुविधा पाउने छन् ।
पहिले ‘सुकुम्बासी समस्या समाधान आयोग’ भन्ने गरिने यो आयोगको नाम अहिले भूमिसम्बन्धी समस्या समाधान आयोग’ राखिएको छ । यसले घडेरी र कृषि कार्यका लागि प्रयोग भएको जग्गाको लालपूर्जा बाँड्छ । पर्ती जग्गामा समेत बस्ती बसाउने अख्तियारी राख्छ ।
आयोगका सदस्यहरुमा जगत देउजा, भीमबहादुर कार्की, मन्जली शाक्य र दिनेशचन्द्र यादव छन्। आयोगका अन्य सदस्यमा सात प्रदेश सरकारले तोकेका एक-एक जना रहने छन्। ती सदस्यले आफ्नो प्रदेशको मात्रै प्रतिनिधित्व गर्नेछन्। सदस्य सचिव नेपाल सरकारको सहसचिव रहनेछन्।