विपन्नलाई राहतमा कुहिएको गन्हाउने चामल

मणिलाल विश्वकर्मा/वसन्त खतिवडा/नरजन तामाङ/मानदत्त रावल

लकडाउनले मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा परेका विपन्नलाई राहत वितरण गर्न सिराहाको लहान नगरपालिकाले एक करोड ३० लाख खर्च गरेको छ, तर राहत थाप्ने विपन्नको भागमा कुहिएको चामल परेको छ । गन्हाउने चामल पकाएर छाक टारेका कैयौँलाई पखाला लागेको छ । 

राहत वितरण गर्न नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) अञ्चल कार्यालयबाट चामल खरिद गरेको थियो । एक हजार ६ सय क्विन्टल चामल किनेर नगरपालिका ल्याएपछि नयाँ प्याकिङ गरेर २०–२० किलोको पोका बनाइएको थियो । ‘यसरी बोरा फोरेर नयाँ प्याकिङ गर्दा कुहिएको चामल प्रस्टै देखिनुपर्ने हो, तर गरिब हुन्, जस्तो पनि खान्छन् भनेर लाइन लगाएर वितरण गरियो,’ स्थानीय नागरिक अगुवाले भने । 

राहत बाँड्ने दिन विपन्न परिवार नगरपालिका कार्यालयमा ओइरिएका थिए । दिनभर लाइन लागेर २० किलो चामलसहितको राहत पाएपछि खुसी हुँदै घर गएकाले पनि खाना खान पाएनन् । किनकि चामल पकाउँदा नै गन्हाएर घरभित्र बस्न नसक्ने भएको थियो । तर, कैयौँ विपन्न दलितले त्यही गन्हाउने भात खाएर छाक टारे, तर रातिदेखि नै पखाला लागेर उनीहरू बिरामी छन् । खासगरी वडा नं. ५, १५ र २४ का का बासिन्दालाई पेट दुख्ने र पखाला लाग्ने समस्या छ । 

छिमेकी बिरामी हुन थालेपछि अन्यले पनि चामल पकाएका छैनन् । लहान– ५ बलुवाटोलकी लक्ष्मी मेस्तरले चामल गन्हाएर खानै नसकेको बताइन् । ‘खानेकुरा नभएकाले कतिपयले त्यही चामल पनि खाए, तर मैले निल्न नसकेपछि भातै फालिदिएँ,’ मेस्तरले भनिन् । 

प्रकाशित मिति: : 2020-04-15 18:46:52

प्रतिकृया दिनुहोस्