लकडाउन प्रभावकारी बनाउन सरकारलाई राजपाका चार सुझाव

कोरोना संक्रमण फैलिन नदिन सरकारले तेस्रोपटक बढाएको लकडाउन अवधिलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले स्वागत गरेको छ।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनलाई थप प्रभावकारी बनाउन सिमानाकामा कडाई, अलपत्र नागरिकलाई गन्तव्यमा पुर्याउन र स्वास्थ्यकर्मीहरुलाई उपचारको लागि अवश्यक सामग्री उपलब्ध गराउन लगायतका चारवटा सुझाव दिएका हुन्।

यी हुन् राजपाले सरकारलाई दिएका सुझावहरुः
१) लक डाउनमा दिनहुँ काठमाडौंबाट पैदल यात्रा गरि हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ–आफ्नो जिल्ला तर्फ गैरहेका छ्न् जसले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था छ। त्यसकारण लक डाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ ।

२) उपत्यका लगायत देशको विभिन्न भुभागमा फसेका नागरिकहरु जसलाई खान बस्न गार्हो भएको अवस्था छ तीनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनु पर्दछ।यस विषयमा सरकारले बारम्बार निर्णयहरु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

३) छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा वढीरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्दछ।

४) देशको विभिन्न भुभागामा अहिले आएर संक्रमितहरुको संख्या वढ्न थालेको छ तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन सकिरहेको छैन। त्यसकारण सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्दछ।

प्रकाशित मिति: : 2020-04-15 17:08:02

प्रतिकृया दिनुहोस्