काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्नेमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ।
उक्त अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले सोमबार फेसबुकमार्फत जानकारी दिएको छ।
प्रहरीले सोमबार ने सनसिटी अपार्टमेन्टमा सुरक्षा व्यवस्था कडा गरेको छ भने भित्र बसोबास गर्ने मानिसलाई बाहिर जान दिएको छैन।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालमा भर्ना गरिएका एकैपरिवारका तीनजना मध्ये दुईजनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ।
लण्डनबाट आई सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको र्यापिड टेस्ट गर्दा तीन जनाको रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको आइसोलेसनमा राखिएकाे थियाे। ५२ वर्षीया बुहारीको भने पहिलो परीक्षणमा कोभिड १९ पोजेटिभ नदेखिएको र पीसीआर परीक्षण पुनः दोहोर्याइएको जानकारी पनि प्राप्त भएको छ।
सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा राति १ बजे बेलायतबाट दोहा हुँदै कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए। त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन्।