सरकार अस्वस्थ, स्वास्थ्य नीति बर्बाद

रातोपाटी

काठमाडौँ

खगेन्द्र संग्रौला

कुरो सुन्दा मजा लाग्छ— हाम्रो सरकार खूब बोल्छ, र खुबै मीठो बोल्छ । तर जब यो हाई काड्दै काम गर्न खोज्छ, यसको व्यवहार र बोलीको र्‍याङठ्याङ मिल्दैन । भानुभक्त भन्ने कोही सरकारका स्वास्थ्यमन्त्री छन्,  स्वच्छ छाविधारी विरल मनुवा । यी अकवि भानुले भनेछन्— कोरोना नियन्त्रणमा सरकारले संसारकै नमूनालायक काम गरेको छ । सुन्नोस् है कुरा ! ‘नमूनालायक’ रे ! त्यो पनि सानोतिनो भूगोलको होइन, सारा संसारकै ! अहो ! चेलाको बोलीमा गुरुको अनुहार कति छर्लङ्ग !  अँ, छनलाई हाल नेपालमा कोरोनाको अवस्था नमूनालयाक अवश्य छ । तर यो अवस्था सरकारका कर्मको नतिजा होइन, कोरोनाका करुणाको कृपा हो । यो सरकारद्वारा सिर्जित नियन्त्रणको अवस्था किमार्थ होइन, यो त कोरोनाको आक्रमण भइनसक्दाको सहज अवस्था पो हो । सरकारको ‘नमूनालायक’ कर्म तब देखिने छ जब कोरोना भाइरस आक्रामक मुद्रामा प्रस्तुत हुनेछ ।

‘नमूनालायक’ कर्म ! यो पगरी वा सलामी बडो स्वादको छ । महामारी नफैलिनुको कारक छ कोरोना भाइरस, जसको पगरी गुत्छ अकर्मण्य सरकार । यो त आफ्नै खुट्टो उचालेर आफूलाई आफैँ ड्याम्म सलामी ठोकेजस्तो पो भयो बा ! कहीँ नभएको हास्यास्पद जात्रा नोपालमा, कोरोना कालमा !

प्रकाशित मिति: : 2020-04-14 08:22:17

प्रतिकृया दिनुहोस्