सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि ‘६ टि’ रणनीति अपनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले ‘६ टि’ रणनीति अख्तियार गरेको जनाएका हुन्।
मन्त्री ढकालका अनुसार पहिलो ‘टि’ अन्तर्गत ट्राभल रेस्ट्रिक्सन अर्थात आवागमन बन्द गर्ने नीति लिइएको छ। सोही नीति अनुसार सबै अन्तर्राष्ट्रिय उडान, सीमानाका र मुलुकभित्र समेत आवागमन रोक्दै लकडाउन गरिएको मन्त्री ढकालले बताए।
त्यस्तै दोस्रो ‘टि’ अन्तर्गत टेस्टिङको नीति लिइएको छ। यस नीतिअनुसार धेरैभन्दा धेरै नमुना संकलन गरेर संभावित संक्रमति पहिचान गर्ने र अन्यमा सर्न नदिने रणनीति अपनाइएको छ। यसका लागि द्रूत गतिमा परीक्षण कार्य भइरहेको र प्रदेश स्तरमा समेत परीक्षण प्रयोगशाला स्थापना गरिएको छ।
मन्त्री ढकालले ट्रेसिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदरको नीति अपनाइने बताए। उनका अनुसार संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका सबैको ट्र्सिङ गरी परीक्षण गर्ने, संक्रमित व्यक्ति पुगेको स्थानको ट्रयाकिङ गरी उनीसँग सम्पर्कमा आएको सबैलाई आइसोलेसनमा राखी उपचार गर्ने नीति लिइएको प्रस्ट पारे।
त्यस्तै रणनीतिमा उल्लेख गरिएको टुगदरको अर्थ कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै तहको सरकार र निकायले सँगै काम गर्ने भनिएको मन्त्री ढकालले प्रस्ट पारे।
पहिलो टी : ट्राभल रेष्ट्रिक्सन
यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ ।
यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस् । हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ ।
दोश्रो टी : टेष्टिङ
यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ ।
कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।
तेश्रो टी : ट्रेसिङ
ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ति संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो ।
हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ। यो कार्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।
चौथो टी : ट्रयाकिङ
सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो ।
यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, CCMC तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ ।
पाँचौ टी : ट्रिटमेन्ट
सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ ।
कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ ।
यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ ।
छैठौं टी : टुगेदर
कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्च स्तरीय समिति, CCMC देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ ।