५ सय १९ काे परीक्षण, काेराेना संक्रमित १४: स्वास्थ्य मन्त्रालय

नेपालमा थप दुई जनामा कोभिड–१९ को संक्रमण फेला परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये २ जनामा संक्रमण फेला परेको बताए।

प्रवक्ता देवकोटाका अनुसार सोमबार गरिएको परीक्षणमा कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी ६५ वर्षीय महिला र रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा संक्रमण देखापरेको हो।

यी सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। 

हालसम्म संक्रमणमा भएका बिरामीहरु मध्ये सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगंजमा ३ जना, बाग्लुङमा २ जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जनाको उपचार भइरहेको जानकारी दिए।

प्रवक्ता देवकोटाले अहिलेसम्म प्रयोगशाला परीक्षण ५ हजार ६ सय ९१ वटा भएको र पछिल्लो २४ घण्टामा ५ सय १९ वटा परीक्षण भएको बताए। 

त्यस्तै ५२ जिल्लाहरुमा आरटीडी परीक्षण सुरु भएको र अहिलेसम्म ५ हजार २ सय ९१ वटा र्‍यापिड किटमार्फत परीक्षण भएको उनले बताए।

अहिलेसम्म आरटीडी र पिसिआर विधिबाट परीक्षणको संख्या १० हजार ९ सय ८२ पुगेको समेत उनले बताए। 

क्वारेन्टाइनमा आजसम्म ७ हजार १ सय ६६ र आइसोलेसनमा रहेका विरामीहरुको संख्या १ सय ३ जना रहेको समेत उनले जानकारी दिए। जस मध्ये उपत्यकामा ९ जना र उपत्यका बाहिर ९२ जना छन्।

यस्तै आइतबार कोरोना भाइरस देखिएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भइरहेको समेत उनले बताए। पर्साको छपकैया टोलका ५९ जनाको र्या‍पिड किटबाट टेस्ट गरिएकोमा सबैको नेगेटिभ आएको बताए।

प्रकाशित मिति: : 2020-04-13 18:02:40

प्रतिकृया दिनुहोस्