कोरोनाविरुद्ध एकताबद्ध भई जुध्न मुख्यमन्त्री गुरुङको आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रही कोभिड–१९ विरुद्धको कष्टकर युद्ध लडिरहेका सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्ष २०७७ का अवसरमा उनले आज जारी गर्नुभएको शुभकामना सन्देशमा मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको विश्व मानव जातिकै साझा शत्रु कोरोनाविरुद्ध एकताबद्ध भई जुध्न एवं सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न नयाँ वर्षले हामी सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामनासमेत गरेका छन्।
    
माघ ९ गते नेपालमा कोरोनाको पहिलो सङ्क्रमित देखिएसँगै सरकारले यो भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि माघ १२ देखि नै औपचारिक गतिविधि शुरु गरेको र अहिलेसम्म थप प्रभावकारिताका साथ अघि बढेको तथा सम्पूर्ण शक्ति, स्रोत र साधनको उच्चतम् परिचालन गरी पूर्ण क्षमताका साथ सरकारले काम गरेको मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन्।

उनले सन्देशमा कोरोनाविरुद्धका लडाइँमा सम्पूर्ण जनताको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै सबै मिलेर मात्र सङ्क्रमणबाट बच्न र बचाउन सकिने भएकाले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न सबैमा आग्रह गरेका छन्।
 

प्रकाशित मिति: : 2020-04-13 15:21:42

प्रतिकृया दिनुहोस्