शीघ्र परीक्षण टोली लिएर क्वारेन्टाइनमा प्रदेशसभा सदस्य

रासस

काठमाडौँ

प्रदेश नं। १ का प्रदेशसभा सदस्य सीता थेबे कोभिड–१९ सङ्क्रमणको जाँचका लागि रेपिड डाइग्नोष्टिक टेष्ट टोली लिएर पाँचथरमा रहेका क्वारेन्टाइनमा पुगेकी छिन्। 

गत चैत १ गतेयता विदेशबाट फर्केर क्वारेन्टाइनमा रहेका तथा विगतमा क्वारेन्टाइनमा बसिसकेका व्यक्तिमा कोभिड–१९ सङ्क्रमणको जाँचका लागि स्वास्थ्यकर्मीको टोली लिएर उहाँ यहाँका चार क्वारेन्टाइनमा पुगेकी हुन्।
 
प्रदेश नं १ सरकारले शनिबार पाँचथरका लागि २०० थान आरडिटी किटसहित स्वास्थ्यकर्मीको टोली पठाएको थियो। कोरोना भाइरस सङ्क्रमणको सन्त्रासले सम्भावितको परीक्षण गर्न डराइरहेका स्वास्थ्यकर्मीलाई हौसला दिन प्रदेशसभा सदस्य थेबे आफैँ क्वारेन्टाइनमा पुगेकी हुन्।

 प्रदेशसभा सदस्य थेबे स्वास्थ्यकर्मीको टोली लिएर  फिदिम नगरपालिका तथा हिलिहाङ र फालेलुङ गाउँपालिकाका क्वारेन्टाइनमा पुगेकी थिइन्।

 यस क्रममा फिदिम बजारस्थित फिदिम माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका आठ, फालेलुङको पाथीभरा कृषि सहकारीको भवन र पञ्चमुखी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका १३  तथा हिलिहाङको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा रहेको क्वारेन्टाइनमा रहेका २४ जनाको रेपिड डाइग्नोष्टिक टेष्ट गरिएको थियो। परीक्षणबाट उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

 प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय तथा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सम्मिलित परीक्षण टोलीलाई हौसला दिन थेबे व्यस्त रहिन्। 

'सङ्क्रमणको सन्त्रासले हामी आफैँ पनि असुरक्षित महसुस गरिरहेका थियौँ  तर माननीयज्यू आफैँ हामीलाई लिएर हिँडेपछि ढुक्कले काम गर्न पाइयो', परीक्षण टोलीमा रहनुभएा स्वास्थ्यकर्मी प्रमोद गौतमले भने।

 जनप्रतिनिधिबाट यस प्रकारको सहयोग सबै जिल्लामा प्राप्त हुन सके प्रदेश सरकारको लक्ष्यानुसार पहिलो चरणमा द्रुत गतिमा रेपिड डाइग्नोष्टिक टेष्ट सम्पन्न गर्न मद्दत पुग्ने गौतमको भनाइ छ।

क्वारेन्टाइनमा दुई साता बिताएर घर फर्केका व्यक्तिलाई परीक्षणका लागि पुनः तयार पार्न सांसद् तथा जनप्रतिनिधिको उपस्थितिले ठूलो सहयोग पुगेको  हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले बताए।

पाँचथरमा शनिबारदेखि शुरु भएको आरडिटी आज सम्पन्न हुँदैछ। 'सबैमा सङ्क्रमणको भय छ। स्वास्थ्यकर्मीहरु आफैँ डराइरहेका पाएपछि उनीहरुलाई साथै लिएर क्वारेन्टाइनहरुमा पुगेकी हुँ',  थेबेले भनिन्, 'स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाए मात्र यो महामारीबाट बच्न सकिन्छ।'

 स्वास्थ्यकर्मी भई सेवा गरेवापत आफूलाई अत्यन्तै खुशी लागेको फालेलुङ गाउँपालिकाको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी धनकुमारी राईले बताइन्।

 पाँचथरमा स्वास्थ्यकर्मीका दुई  टोलीले शनिबार, आइतबार र सोमबार शीघ्र परीक्षण गरिरहेको छ। एक टोलीलाई थेबेले अगुवाइ गरेको थियो भने अर्को टोली स्थानीय जनप्रतिनिधिको सहयोगमा शीघ्र परीक्षणमा खटिएको छ। 

आइतबार साँझसम्म जिल्लामा विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका, विगतमा दुई हप्ता क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा रहेका तथा उनीहरुको सम्पर्कमा आएका ७९ जनाको शीघ्र परीक्षण सम्पन्न भएको छ। 

प्रकाशित मिति: : 2020-04-13 12:43:54

प्रतिकृया दिनुहोस्