प्रचण्ड र देउवाको नयाँ वर्षको शुभकामना: कोरोना नियन्त्रणमा सफलता मिल्ने विश्वास

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन्।

नव वर्षको अवसरमा सोमबार सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उनले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गरेका छन्।

‘सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गरेको छु,’उनले भनेका छन’

उनले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गरेका छन्।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

 उनले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गरेका छन्।

‘कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रूपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारसँगै नरहेर पनि संकटसँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको छौं,’उनले भनेका छन्।
 

प्रकाशित मिति: : 2020-04-13 12:08:35

प्रतिकृया दिनुहोस्