नयाँ वर्षमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामनाः सुरक्षित रहन सबैसँगै आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्।

नयाँ वर्ष २०७७ का उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले विश्वमा अहिले कोरोना भाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् ।

‘सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूप लिएको नोवेल कोरोना भाइरस को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको छ,’ उनले भनिन्,‘ हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि यहाँका आन्तरिक स्रोत उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधता सदुपयोग गर्दै दीगो विकास हासिल गर्न अग्रसर हुनु हाम्रो गहन दायित्व हुन आएको छ।’

कोरोना भाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताउँदै राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पुरानै लयमा छिट्टै फर्कने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ वर्षको शुभकामना दिँदै सुरक्षित रहन सबैसँगै आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-04-13 07:47:09

प्रतिकृया दिनुहोस्