पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसबाट सिर्जित विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीहरूको सामना गर्ने वेला कसैले कसैलाई निषेध गरेर जान नहुने बताएका छन्।
राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकिएन भने इतिहासमा अर्को एउटा महाभूल हुने पूर्वराजा शाहले दाबी गरेका छन्।
‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीहरूको सामना गर्न हामीबीचको एकता अपरिहार्य हुन पुगेको छ,’एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौँ भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौँ।’
मानव सभ्यताको अनपेक्षित चुनौतीहरूको सामना गरिरहनुपरेको कष्टकर परिस्थितिका माझ, नयाँ वर्ष २०७७ को आगमन भएको बताउँदै उनले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे–बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त अवस्थमा रहेको उल्लेख गरेका छन्।
‘यस्तो स्थितिमा देश र आफूलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनुपर्दछ,’ उनी भन्छन्, ‘नेपाली जनता खुसी र सुखी रहून् एवम् देशको शिर सधैँ सगरमाथाझैँ उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ।’
आफूलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्न सक्ने विभिन्न समयका खतराहरू टार्न प्रयास गरेको उल्लेख गर्दै उनले मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नुपरेको वेलामा नेपालीहरूले शान्त र सामूहिक रूपले राष्ट्रव्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेको पनि बताएका छन्।
कोरोना भाइरसको वर्तमान संक्रमणले हाम्रा पुर्खाले अनादिकालदेखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवनपद्धति सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस अहिले विश्व जगत्ले स्वीकार गरेका पनि पूर्वराजा शाहले उल्लेख गरेका छन्।
उनको कामना छ, ‘नयाँ वर्षले मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता सबै नेपालीलाई प्राप्त होस्।’