महावीर पुनले तयार पारे कोरोना सङ्क्रमितका लागि ‘एरोसोल बक्स’ र ‘इमर्जेन्सी भेन्टिलेटर’

बिएल संवाददाता

काठमाडाै‌ं

महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस सङ्क्रमित सिकिस्त बिरामीहरुको उपचारको लागि आवश्यक पर्ने एरोसोल बक्स र इमर्जेन्सी भेन्टिलेटर तयार गरेको छ।

रामोन म्यागासेसे पुरस्कार बिजेता सामाजिक अभियन्ता पुन एक्रिलिकबाट बनेको एरोसोल बक्स कोरोनाको बिरामीको टाउको बक्समा छिराएर चिकित्सकले बिरामी जाँच्न सक्ने बताउछन्। 

‘यो एक सामान्य बक्स हो। यो बक्स बिरामीको टाउकामा छिराएर जाँच गर्दा बिरामीले हांच्छिउ गर्‍यो तथा फेरेको सास सिघै डाक्टरसम्म जानबाट रोक्छ र डाक्टरहरु सुरक्षित हुन्छन’, उनले बिएल नेपाली सेवासँग भने।

अहिलेसम्म यस्तो बक्स बनाएर वीर अस्पताल र सैनिक अस्पताल,छाउनीलाई हस्तान्तरण गरिसकेको उनले बताए।

यस्तै उनले इमर्जेन्सी भेन्टिलेटर पनि तयार गरिएको जानकारी दिए। कोरोनाले ग्रस्त बिरामीहरुलाई सास फेर्न इमर्जेन्सी भेन्टिलेटर नभई नहुने गर्छ। 

उनले आवश्यक परेको खण्डमा अरु यस्तै इमरजेन्सी भेन्टिलेटरहरु तयार गर्न सकिने पनि बताए। ‘यो इमर्जेन्सी भेन्टिलेटर अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)का अनुसन्धानकर्ताहरुले बिकास गरेर खुल्ला रुपमा उपलब्ध गराएको नमुनाको आधारमा बनाइएको हो,’उनले भने।

यसको साथसाथै वीर अस्पताल, ट्रमा सेन्टर, टिचिंग, गंगालाल र सैनिक अस्पताल छाउनीमा भएका बिग्रेका भेन्टिलेटरहरु मर्मत गर्ने काम पनि भइरहेको उनले बताए। 

‘बिग्रेका ति भेन्टिलेटरहरुको लागि फेर्नु पर्ने आवश्यक पार्टपुर्जाहरु खरीद पनि राष्ट्रिय आविष्कार केन्द्रले नै गरेको छ,’पुन भन्छन्,‘अन्य अस्पतालहरुको बिग्रेको भेन्टिलेटरहरुको पनि मर्मत गर्ने सहयोग गर्ने छु।’

याे पनि
प्रकाशित मिति: : 2020-04-12 07:22:58

प्रतिकृया दिनुहोस्