बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ९१७ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ९१७ जनाको ज्यान गएसँगै बेलायतमा अहिलेसम्म ९ हजार ८७५ जनाको ज्यान गएको छ ।
लगातार दोस्रो दिन ९ सय भन्दा बढीको मृत्यु भएको हो । यसअघि शुक्रबार पनि ९८० जनाको मृत्यु भएको थियो । बेलायतमा अहिलेसम्म कुल संक्रमितको संख्या ७८ हजार ९९१ पुगेको छ ।
यसैबिच प्रधानमन्त्री बोरिस जोन्सनले साथीहरुसँग आफ्नो जीवन नेशनल स्वास्थ्य सेवाका कर्मचारी (स्वास्थ्यकर्मी) हरुको देन रहेको र आफू सदैव ऋणि रहने बताएका थिए ।
प्रधानमन्त्री जोन्सन अहिले लण्डनको अस्पतालमा उपचाररत छन् । उनले आउँदो हप्ता पनि आराम गर्ने र काममा फर्किन हतारो नगर्ने जनाइएको छ ।
कोरोनाको संक्रमणपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएका जोन्सनलाई गएको आइतबार अस्पताल भर्ना गरिएको थियो ।