लकडाउन भनेको लकडाउन नै हो, भावुक कुरा गरेर गल्ती गरे स्वीकार्य हुँदैन: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले लकडाउनलाई कडाइका साथ पालना गर्नसमेत भनेका छन्।

‘लकडाउन भनेको लकडाउन नै हो। यसलाई कडाइका साथ पालना गर्नु पर्छ। नो कम्प्रमाइज’,उनले भने, ‘भावनामा बहकिन र भावुक कुरा गरेर लापरबाही गरे स्वीकार्य हुँदैन।’

भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने नहुने उनले बताए। यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेतसमेत गराए ।

प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तै गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई निर्देशन दिए। साथै, स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने उनले बताए।

प्रधानमन्त्री ओलीले लकडाउनमा प्रशासनिक लापरबाही नगर्न, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनै पर्ने बताए। यस्ता कार्य राेक्नका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने उनले बताए।

‘जनतालाई दुःख दिन होइन जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य गरेका हाैं,’उनले भने।

प्रकाशित मिति: : 2020-04-11 16:37:02

प्रतिकृया दिनुहोस्