कविता
मान्छेहरुका मन–मनमा
बेचैनी छाएका बेला
विश्व नै आत्तिएर
जनजनमा उदासी छाएका बेला
तिम्रो आगमनलाई म उत्साहिन देखिरहेको छु ।
कसरी गरौं म तिम्रो स्वागत
म आफै अलमलिएको छु ।
तिम्रो आगमनमा फूलेका फूलहरूलाई पनि
ओइलाइरहेको भेटेको छु ।
मान्छेहरुका आँखा रित्तिएका छन्
मनहरूमा चिरा परेका छन् ।
बिपतको यो समयमा
सायद, हिराहरूमा पनि
किरा परेका छन् ।
नयाँ सालको नयाँ दिन पनि
पुरानै दिनझैँ अन्योलमा बितिरहेको छ ।
कहाँ मात्र भनौ
संसारकै भूगोलमा यस्तै भइरहेको छ ।
आशा गर्छु यो नयाँ सालमा
असिम महामारीको यो रोग हटोस्
मान्छेमा व्याप्त भय र त्रास हटोस्
विश्व फेरि पुरानै लयमा फर्कोस् ।
कतै पनि लडाई झगडा नहोस्
बाँच्न सहज होस्, खान सबैलाई पुगोस् ।
महामारीबाट पाठ सिकेर
सर्वत्र भाइचारा बढोस्
यिनै आशा र भरोसा बोकेर
तिम्रो आगमनको अघिल्तिर
संघारमै म उभिरहेको छु ।
र, तिमीलाई भन्नुपर्ने कुरा
मनमनै भनिरहेको छु ।