विश्व कप विजेता इंग्लिस टोलीका पूर्व डिफेन्डर नोर्मन हन्टरको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। उनी ७६ वर्षका थिए। बेलायतका लागि २८ वटा अन्तर्राष्ट्रिय खेलेका लिड्स युनाइटेडका पूर्व व्यवसायिक खेलाडी नोर्मन थ्रि लायन्सले सन् १९६६ मा विश्व कप जित्दा टोलीको सदस्य थिए। तर, उनले ज्याक चाल्र्टन र बबी मुरका कारण बल छुन पाएनन्।
उनलाई लिड्सका समर्थकले ‘बाइट्स यार लेग्स’ को उपमा दिएका थिए। लिड्सका लागि ५ सय ४० व्यवसायिक खेल खेलेका नोर्मनको ‘ट्याकल’ बेजोडको मानिन्थ्यो। लिड्सले दुई वटा पहिलो श्रेणीको उपाधि, एफए कप, लिग कप र दुई इन्टर–सिटिस् फेयर्स कप्स जित्दा उनी प्रमुख खेलाडी थिए। अवकाशपछि उनले व्यवस्थापनको जिम्मेवारी पनि सम्हाले।
लिड्स युनाइटेडले उनको निधनमा संवेदना व्यक्त गर्दै लेखेको छ, ‘हामी दुःख साथ भन्न चाहन्छौ्र लिड्स युनाइटेड र इंग्ल्यान्डका महान खेलाडी नोमन हन्टरको कोरोना भाइरस उपचारका क्रममा अस्पतालमा निधन भएको छ।’