जुम्ली कलाकारकाे काेराेनाविरुद्ध अभियान, पुनः प्रयोग गर्न मिल्ने मास्क उत्पादन गर्दै (भिडियाे)

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न माक्स प्रयोग उपयोगी हुने उपाय स्वास्थ्यकर्मीले सुझाएसँगै संसारभर यसकाे माग बढेको छ। तर माक्सको माग अनुसार पूर्ति हुननसकी सर्वत्र अभाव भइरहेको छ। यस्तो अवस्थामा जुम्लाका कलाकारले पुनः प्रयोग गर्न मिल्ने सुरक्षित माक्स उत्पादन गर्न थालेका छन्।

थियटरमा नाटक प्रदर्शन गर्ने जुम्ली कलाकार यति बेला माक्स उत्पादनमा जुटेका हुन्। आफ्नो टिमले उत्पादन गरेका माक्स स्तरीय हुनुका साथै पुनः प्रयोग गर्न मिल्ने उनीहरुकाे दावी छ। 

बजारमा कपडाका माक्स धमाधम बिक्री भइरहेको र स्थानीय तहका जनप्रतिनिधि समेतले कपडाको माक्स उत्पादन गरि सुरक्षित हुने उपाय सुझाइरहेका छन्। जुन सुरक्षित हुन नसक्ने स्वास्थ्यकर्मीले बताइरहेका छन्। त्यसैले विकल्पमा पुनः प्रयोग गर्न मिल्ने स्तरीय माक्स उत्पादन गर्न लागेको कलाघरका कलाकार गोविन्द सुनारले जानकारी दिए। 

‘कपडाका माक्स प्रयोग गर्दा कोरोना भाइरसको संक्रमण हुनबाट बचिने होइन, बरु संक्रमण बढ्न सक्ने डाक्टरहरु भन्दैछन्,’ उनले भने, ‘जुन प्रयोग गर्दा सुरक्षित भइदैन, जनप्रतिनिधिले उही असुरक्षित उपाय सुझाएपछि हामीले विकल्पमा नयाँ तरिकाबाट पुनः प्रयोग गर्न मिल्ने माक्स बनाउन थालेका हौं।’

कलाकारले फाइबरका माक्स उत्पादन गरेका छन्। पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएका डबल लेयरका माक्सको बीचमा फेर्न मिल्ने गरी टिसी पेपर राखिएको छ भने माक्सलाई नाकमा अड्याउनको लागि मसिनो लचकदार तार प्रयोग गरिएको छ।

एउटा माक्स कम्तिमा १५ दिनसम्म प्रयोग गर्न मिल्छ। ‘माक्स एक पटक प्रयोग गरिसकेपछि बीचको टिसी पेपर निकालेर व्यवस्थित रुपमा नष्ट गर्नुपर्छ। पेपर फेर्न साह्रै सजिलो छ,’ गोविन्दले भने, ‘उमालेको पानीमा नुन राखेर त्यसमा माक्सलाई हल्का भिजाएर सुकाउने र सुकेपछि बीचमा टिसी पेपर राखेर पुनः प्रयोग गर्न मिल्छ। यसरी कम्तिमा पनि १५ दिन आरामले चल्छ।’

उत्पादन गरेको दुई दिनमै ग्राहक बढेको पनि उनले बताए। ‘अस्पतालका डाक्टरले पनि हामीले उत्पादन गरेको माक्स किनेपछि मनोबल बढेको छ,’ उनले भने, ‘अहिले विभिन्न ठाउँबाट अर्डर आइरहेको छ। हरेक दिन ग्राहक बढिरहेका छन्।’

विश्व स्वास्थ्य संगठनले सर्जिकल माक्स प्रयोग गर्न सुझाव दिएको छ। तर जुम्लाका मेडिकलमा सर्जिकल माक्स उपलब्ध छैनन्। यस्तो अवस्थामा सर्जिकल माक्सकै स्तरको माक्स उत्पादन जरुरी देखेकाले साथीहरुसँग छलफल गरेर उत्पादन थालिएको उनले बताए।

‘हामीले सर्जिकल माक्स जतिको गुणस्तर दिने कोसिस गरेका छौं। सुरक्षित रुपमा प्रयोग गर्न सके उपयोगी हुनेछ भने खर्च पनि बच्नेछ,’ उनले भने, ‘उत्पादन थालेका दुई दिनमा पाँच सय माक्स बिक्री भए। डाक्टरबाट सकारात्मक प्रतिक्रिया आयो भने मासमा उत्पादन गर्नेछौं।’

प्रत्येक पालिकाले कपडाको माक्स बनाउन छोडेको खण्डमा सबै क्षेत्रको माग पुरा गर्न सक्ने गरी उत्पादनको बन्दोबस्त गरेको उनले बताए। 

अहिले एउटा माक्सको तीस रुपैयाँमा बिक्री भइरहेको भएपनि ठूलो परिमाणमा माग गर्नेलाई केही सस्तो पर्न जाने उनीहरुले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-04-11 08:06:00

प्रतिकृया दिनुहोस्