काठमाडौंमा मजदुरी गर्ने श्यामको प्रश्न - सरकार राहत हामीले कहिले पाउँछौं (भिडियो)

सिन्धुपाल्चोक पाँच पोखरीका ४० वर्षिय श्याम लाल श्रेष्ठ काठमाडौंमा ज्याला मजदुरीको काम गरेर दैनिक परिवार पाल्छन्।

२०६६ सालमा श्रीमती मिल कुमारी, १० वर्षका छोरा सफल र ८ वर्षकी छोरि सन्जिनासँगै काठमाडौं भित्रिएका श्रेष्ठले जोरपाटीको छहारी क्लबमा डेरा भाडा लिएर बसेका छन्।

हातमा केही सिप नभएका उनी ज्यामी काम गरेर दैनिक ४-५ सय रूपैयाँ कमाईले घर खर्च जोहो गरिरहेका थिए।

‘त्यसबेला ज्यामीलाई दिनको मात्र ४/५ सय मात्र दिने गरिन्थ्यो', उनले बिएल नेपाली सेवासँग आफ्नो विगत सम्झिए,‘त्यो भन्दा अर्को कुनै विकल्प नै पनि थिएन। परिवार जो पाल्नु थियो।'

श्रीमती घरकै काममा व्यस्त हुन्थिन्। दिनभरी खटेर पनि दिनको कमाई ४-५ सय हुनाले खान लाउनै धौ धौ परेपछि विदेश जाने विचार गरे। नभन्दै उनी २०७१ सालमा आफ्नो परिवारलाई ३ सालमा फर्किने वाचा गर्दै मलेसिया उडे।

त्यहाँ एउटा गार्मेन्ट कम्पनीमा काम गर्न थाले मासिक त्यहाँको एक हजार अर्थात २८ हजार नेपाली  तलब पाउँथे। उक्त कमाईको केही अंश महिनैपिच्छे परिवारलाई घर खर्च पठाउने गरेका थिए।

यता श्रीमतीले पनि सानो चिया पसल खोलेर समय विताउने मेलो पहिल्याएकी थिइन्। चिया पसलको कमाइले घर खर्च चलाउन केही सहज भएको थियो उनीहरूलाई।

दुःख सुख गरेर दिन कटेकै थियो। परिवार खुसीमै रमाएर बसेका थिए। तर, त्यो खुसी मात्रै एक वर्षको लागि सिमित रह्यो। २०७२ साल माघ ४ गते उनको परिवारमा ठूलो बज्रपात पर्‍यो।

ज्यान भन्दा प्यारी श्रीमती मिललाई क्यान्सरले लाग्यो।

‘श्रीमतीको मृत्यु क्यान्सरका कारण भएको रहेछ। मलाई थाहै थिएन’, उनले भने, 'थाहा भएको भए त मर्न दिन्नँ थिएँ होला।'

जीवन साथीको मृत्युको खबर सुनेलगतै स्वदेश फर्किने निधो गरे पनि अर्काको देशमा कहाँ भनेजस्तो हुँदो रहेछ र, बिदा मिलेन। ‘अर्काको देशमा भने जस्तो सहज कहाँ हुँदो रहेछ र!', उनले भने, 'समय अवधि ३ वर्षको थियो। त्यसैले कम्पनीले नै पठाएन। अन्तिम पटक पनि देख्न पाईनँ।'

श्रीमतीसँग अन्तिम भेट उनी विदेश जाने बेलामा विमानस्थलमा विदा गर्न गएकै बेला भएको उनले सम्झिए।

उनी नभए पछि उनका भाइ भक्त श्रेष्ठले भाउजुको अन्तिम संस्कार गाउँमै लगेर गर्ने सबै व्यवस्था मिलाएका थिए।

'भाइ भक्तले नै सबै व्यवस्था मिलायो। काठमाडौंमा आफ्नो मान्छे ऊ बाहेक अरू थिएनन्, पसलमा बस्ने मान्छे नभएकाले भाइले नै पसल पनि बेचिदियो,’ उनले भने।

आमाको मृत्यु भए पछि पनि छोराछोरी भने जोरपाटीकै समता स्कुलमा पढिरहेको उनले जानकारी दिए।

जसो तसो ३ वर्ष मलेसियामा बिताईसकेपछि उनी छोराछोरीसँग बस्ने भन्दै स्वदेश फर्किए।

काठमाडौं आएपछि उनले फेरि पनि ज्यामी काम गर्न थाले। यति बेला उनले दैनिक १ हजार रूपैयाँ पाउँथे। तर, उनले एक वर्ष पछि ज्यामी काम छाडेर फर्निचरमा काम गर्न थाले।

साथी पुण्य कार्कीमार्फत सिन्धुपाल्चोककै चक्र बहादुर क्षेत्रीले एक वर्ष अगाडि खोलेको फर्निचरमा काम गर्न थाले।

फर्निचर सम्बन्धी काम सिक्न उनलाई ६ महिना लाग्यो। काम सिक्ने क्रममा पनि उनलाई साहुले दिनको ५ सय रूपैयाँ दिने गरेको थियो। ६ महिना काम सिकिसकेपछि अहिले फर्निचरमा उनी मित्रीको काम गर्ने गरेका छन्। ‘अझै राम्रोसँग हात बसेको छैन। दैनिक १ हजार रूपैया पाउने गरेको छु, जे होस् ज्यामी काम भन्दा सजिलै छ,’ उनले भने।

जसो तसो परिवार पाल्दै आएका श्यामलाई सरकारले लगाएको लकडाउनपछि समस्यामाथि समस्या थपियो।

विश्वमा माहामारीको रूपमा आएको कोरोना भाइसरको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनले उनी जस्ता मजदुरलाई पर्नुसम्मको पीडा पर्‍यो।

लकडाउन भएपछि आफूलाई छाक टार्नै मुश्किल भएको उनले बताए। ‘हामी दिनमा कमाए मात्रै साँझ छाक टार्नेहरूका लागि साह्रै मुश्किल हुनेरहेछ।

‘बाहिर निस्केर काम गर्दा त दैनिक छाक टार्न हम्मेहम्मे परिरहेको अवस्थामा अहिले केही काम नहुँदा के भएको होला अनुमान मात्र गर्न सकिन्छ,’उनले भने।

सरकारले हामीजस्ता गरिबलाई राहत बाढ्ने भनिए पनि अहिलेसम्म आफूले केही नपाएको उनको गुनासो छ। ‘राहत लिनका लागि फर्म भरिरहेको छु। तर कहिले पाउने थाहै छैन,’ उनले भने, यदि सरकारी राहत पाइहाले पनि ५ केजी चामलले कति दिन पुर्‍याउने?

उनले आफूजस्ता दैनिक ज्याला मजदुरी गरेर खानेहरूका लागि लकडाउन अवधिभर पुग्ने राहत दिनुपर्ने उनको माग छ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले  देशभर बन्दाबन्दी (लकडाउन) गरेर सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। यो अवस्थामा सरकारले अत्यावश्यक सेवा र उपभोग्य वस्तुको अभाव हुन नदिने पनि भनेको छ।

कम्तिमा ६ महीनालाई पुग्ने खाद्यान्न भण्डारण रहेको सरकारको दाबी भए पनि उपभोक्तालाई सुनिश्चित पार्न सकेको छैन। जसका कारण बन्दाबन्दीको समय लम्बिने त्रासका कारण सर्वसाधारणले उपभोग्य वस्तु सकेसम्म थुपार्ने प्रवृत्ति देखिएको छ।

एकातिर महीना दिनसम्मका लागि उपभोग्य वस्तु जम्मा पार्ने उपभोक्ता छन् भने, अर्कातिर दैनिक ज्यालादारी गरेर त्यसैबाट साँझ–बिहानको छाक टार्नुपर्ने श्रेष्ठजस्ता हजारौ परिवार पनि छ।

बन्दाबन्दीका कारण सार्वजनिक जीवन ठप्प भएपछि तिनले कसरी गुजारा चलाइरहेका छन् भन्ने विचारणीय पाटो छ। किनकि, तत्कालैको अवस्थामा न्यून आय भएका उपभोक्तालाई समस्या परिरहेको छ।

लकडाउनपछि दैनिक ज्यालादारी मजदुर सबैभन्दा बढी मर्कामा परेका छन्। दिनभरि काम गरेपछि मात्रै बेलुका चुलो जल्ने झन्डै १६ लाख श्रमिकलाई बजार बन्द हुँदा पेट पाल्नसमेत कठिनाइ भएको छ।

केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल श्रम सर्भे प्रतिवेदनअनुसार नेपालमा दैनिक ज्यालादारी गरी खाने श्रमिकको संख्या १५ लाख ८६ हजार छ। यो संख्या कुल श्रमिकको ४१ दशमलव ५ प्रतिशत हो। जसमध्ये पुरुष श्रमिकको संख्या ११ लाख ७५ हजार अर्थात् ४३ प्रतिशत हो। महिला श्रमिकको संख्या ४ लाख ११ हजार अर्थात् ३७ दशमलव ९ प्रतिशत छ।

दैनिक गुजाराको समस्या परेका श्रमिकलाई लक्षित गरी सरकारले राहत प्याकेज ल्याउनुपर्ने सरोकारवालले माग गरिरहेका छन्

प्रकाशित मिति: : 2020-04-11 12:23:00

प्रतिकृया दिनुहोस्