हिँजो
माटोमा हिँड्ने, पानीमा पौरिने र अकाशमा उडनेहरु
विधाताले सिर्जिएका सुन्दर र निरीह प्राणीहरु
'हजुर मलाई नमार्नु होस न !' भन्न नसक्नेहरु
ती निर्दोष अबोला ज्यानहरु
छटपटाइ रहेका थिए
'करुणा'को अभयदान मागिरहेका थिए ।
मान्छेका कुटिल चतुर्याइँका कारखानामा निर्मित
गुलेलीहरु, मट्यांग्राहरु, धनुकाँडहरु
अप्ठ्यारोमा थापेका पासाहरु, केटाकेटीका बल्छीहरु
अनेकौं धारिला हातहतियारहरु
बडेमानका कल कारखानाका विद्युतीय तरंगहरु
'पशुबलि' र 'बकरीद'का नाउँमा उज्याइएका
खुँडा र खुकुरीका धारहरु, भाला र तरवारहरु
आगोका शोला छोडने बन्दुकका नालहरु
ती निष्पाप र अबोध प्राणीहरुका
गर्दनमा, टाउकामा, किल्किले र भुँडीहरुमा
निर्मम प्रहार भई रहेको थियो ।
रक्ताम्य थिइन् धरणी, मौन थियोे आकाश
मुकदर्शक थिए घाम, जून र ताराहरु
मान्छेको ताण्डव नृत्य मंचन भई रहेको थियो
यो कोलाहलमय वातावरणमा
'बाँच र बाँच्न देउ' मरी सकेको थियो
अनन्त कोटि पशुहरुको सामुहिक बिलौना थियो
चीत्कार थियोे, गुहार थियोे, जीवन रक्षाको याचना थियोे
नगन्ती 'करुणा'का स्वरहरुले भूमंडल थर्किएको थियो ।
न विधाताले सुने, न व्यवस्थाले सुन्यो
न साहित्यकारले सुने, न संगीतकारले सुने
न राजाले सुने, न रैतीहरुले सुने
न पण्डितहरुले सुने, न भिक्षुहरुले सुने
न पादरीहरुले सुने, न मुल्लाहरुले सुने
एकाधले सुने, लुकेर सुने, डराएर सुने
सुनेर पनि नसुने झैं सुने
स्वादमा बाँधिएको जिब्रोका अगाडि
थर्थराएर सुने ।
तर आज
समय कोल्टे फेरियो, व्यवस्था बदलियो
'करुणा' अल्पियो, 'कोरोना' जन्मियो
पालाको पैंचो उठाउन अदृश्य रुप लियो
पशुवेतर प्राणीहरुमा कालसर्प बनी खनियो
न हावाले सुकाउँछ, न पानीले गलाउँछ,
न हतियारले काट्न सक्छ, न ओखतीले निको पार्छ
विश्व त्राहिमाम छ, मान्छे आतंकित छन्
हे भगवान् ! ज्यान गुम्छ कि ? सशंकित छन्
कोरोन्टाइनमा छन अौषधिको खोजीमा छन्
डराएका मान्छेहरु आफ्नै घरमा नजरबन्द छन्
अदृश्य भएर आएको छ महामारीको नांगो नाच छ
मान्छे भित्रको चेतनालाई ठाडो चुनौती छ
हिंजोका दिनहरु सम्झने आजको दिन सपार्ने
खबरदारी आई रहेछ समय बोली रहेछ ।