लकडाउनको समय थप भएसँगै थुलुङ दूधकोशी गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ। लकडाउनका कारण नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई राहतस्वरुप एक महिनाका लागि औषधि वितरण गर्ने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।
दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका २९५ परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले दीर्घरोगीलाई औषधि उपलब्ध गराउने जनाएको छ। तेस्रो चरणको लकडाउन थपिए पनि अझै खुल्ने समय यकिन नभएकाले दीर्घरोगीलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले औषधि वितरण गर्न लागिएको अध्यक्ष राईको भनाइ छ।
गाउँपालिकाले सार्वजानिक सूचना जारी गरेर बिरामीले सेवन गर्ने औषधिको बिल उपलब्ध गराउन आग्रह गर्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ। प्रत्येक वडाका जनप्रतिनिधिले तथ्याङ्क सङ्कलन गरी गाउँपालिकामा बुझाउनुपर्ने प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिए।
जिल्लाको नेचा सल्यान गाउँपालिकाले पनि दीर्घरोगीलाई एक महिनाको निःशुल्क औषधि उपलब्ध गराउने जनाएको छ। गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाका अनुसार गाउँपालिकाले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको छ। वडाका जनप्रतनिधि र स्वास्थ्यकर्मीले सिफारिस गरेको पत्रसहित विवरण सङ्कलन गरी ल्याउने र गाउँपालिकाले खरिद गरी वितरण गरिने जनाएको छ। यस्तै गाउँपालिकाभित्रका अतिविपन्न परिवारलाई राहत दिनका लागि पनि विवरण सङ्कलनको काम जारी रहेको जनाएको छ।
सोलुखुम्बुको आठ स्थानीय तहमध्ये अतिविपन्न तथा ज्यालामजदुरी गर्नेको पहिचान गरी राहत वितरण गर्ने पहिलो गाउँपालिका थुलुङदूधकोशी हो। यहाँका अन्य स्थानीय तहले अहिले विवरण सङ्कलनमा जुटेका छन्।
महाकुलुङ गाउँपाकिलाले चैत २८ गते राहत दिने गरी तयारी थालेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए। सोमबार सम्पन्न गाउँकार्यपालिका राहत वितरण मार्गदर्शन २०७६ पारित गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष किराँतीले जानकारी दिए। यस्तै माप्यदुधकोशी गाउँपालिकाले पनि अतिविपन्न परिवारको तथ्याङक सङ्कलन गरिरहेको जनाएको छ। गाउँपालिका उपाअध्यक्ष जुनितामाया मगरका अनुसार विपन्न परिवारसँगै दीर्घरोगीको तथ्याङ्क सङ्कलनको काम भइरहेको छ। लिखुपिके गाउँपालिकाले पनि आजसम्ममा अतिविपन्न परिवारको तथ्याङ्क सङ्कलन सक्ने गरी काम गरिरहेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए।
जिल्लाको विभिन्न स्थानीय तहमा भौतिक संरचना निर्माणको चरणमा रहेकाले यहाँका भारतीयमूलका नागरिकसमेत मजदुरीका लागि आएका छन्। तर पनि उनीहरु के–कति छन् भन्ने विषयमा आजसम्म कसैले पनि तथ्याङ्क सार्वजानिक गरेका छैनन्। यस्तै जिल्ला बाहिर कैलाली, कञ्चरपुर, रामेछापलगायतका क्षेत्रबाट पनि मजदुरीका लागि आउने गरेका छन्।
कतारबाट आएका युवाको परीक्षण नेगेटिभ
ताप्लेजुङ : कोरोना सङ्क्रमित युवतीसँगै कतारबाट जहाजमा आएका ताप्लेजुङका एक युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। ती युवासहित तीन जनाको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। भारतबाट आएकी एक महिला र उच्च ज्वरो देखिएका अर्का एक वृद्धको स्वाब परीक्षण भएको हो।
तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामाले जानकारी दिए। तीनै जना अहिले होम क्वारेन्टाइनमा रहेको बताइएको छ। यस्तै जिल्ला अस्पतालको आइसोलेसनमा रहेका तीन जनालाई समेत डिस्चार्ज गरिएको जनाइएको छ। उता सिरिजङ्घा गाउँपालिकामा क्वारेन्टाइनमा रहेका आठ जनालाई समेत घरैमा सुरक्षित बस्ने गरी घर पठाइएको गाउँपालिकाले जनाएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।
विदेशबाट फर्केका १३ को परीक्षण
भोजपुर : कोरोना भाइरस फैलिन नदिन पौवादुङमा गाउँपालिकाले विदेशबाट आएका १३ स्थानीयवासीको स्वास्थ्य परीक्षण गराएको छ। भारतबाट आएका पाँच, कतारबाट आएका चार र अन्य विभिन्न ठाँउबाट आएका गरी १३ जनाको बुधबार स्वास्थ्य परीक्षण गरिएको हो। जिल्ला अस्पतालबाट चिकित्सकको टोली बोलाएर गाउँपालिका केन्द्र च्याङ्ग्रेमा उनीहरुको स्वास्थ्य परीक्षण गराएको हो।
परीक्षणमा सबैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल भोजपुरका डा कैलाश विश्वकर्माले बताए। स्वास्थ्य परीक्षणपश्चात उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा विदेशबाट आएका उनीहरुको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।
गाउँपालिकाले छ वटै वडाको प्रत्येक टोलटोलमा ५४ स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेर अन्य मानिसको रेकर्ड राखेर उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिइरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिए।