सिन्धुपाल्चोककी ३० वर्षीय कृषा गोले तामाङ विगत १० वर्षदेखि काठमाडौंमा दैनिक टेम्पु चलाउने काम गर्छिन्।
यसबाट उनले दैनिक १ देखि २ हजार रुपैयाँसम्म आम्दानी गर्थिन्। तर, १५ दिनदेखि उनी कामविहीन भएकी छन्।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि उनको मजदुरी ठप्प भएको छ। कोरोना संक्रमणको त्राससँगै काठमाडौंमा ज्यान कसरी पाल्ने भन्ने चिन्तामा छन् गोले दम्पत्ति।
यस्तै ज्याला मजदुरी गर्ने श्रीमान् सुशील तामाङ पनि कामबिहिन भएका छन्। चार वर्षिय छोरी कृष्टिनासँगै तीन जनाको परिवार पाल्न यसअघि उनीहरूलाई खासै समस्या थिएन।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेर सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। यो अवस्थामा सरकारले अत्यावश्यक सेवा र उपभोग्य वस्तुको अभाव हुन नदिने पनि भनेको छ।
कम्तिमा ६ महीनालाई पुग्ने खाद्यान्न भण्डारण रहेको सरकारको दाबी भए पनि उपभोक्तालाई सुनिश्चित पार्न सकेको छैन। जसका कारण बन्दाबन्दीको समय लम्बिने त्रासका कारण सर्वसाधारणले उपभोग्य वस्तु सकेसम्म थुपार्ने प्रवृत्ति देखिएको छ।
एकातिर महीना दिनसम्मका लागि उपभोग्य वस्तु जम्मा पार्ने उपभोक्ता छन् भने, अर्कातिर दैनिक ज्यालादारी गरेर त्यसैबाट साँझ–बिहानको छाक टार्नुपर्ने तामाङ दम्पत्ति जस्ता हजारौं परिवार पनि छ।
बन्दाबन्दीका कारण सार्वजनिक जीवन ठप्प भएपछि तिनले कसरी गुजारा चलाइरहेका छन् भन्ने विचारणीय पाटो छ। किनकि, तत्कालैको अवस्थामा न्यून आय भएका उपभोक्तालाई समस्या परिरहेको छ।
सामान्य दिनमा छुट्टि नबस्ने कृषा अहिले यति लामो समयसम्म कोठामै बस्नुपर्दा हातखुट्टा कुँजिए जस्ता भएका छन् भने अर्को तर्फ दिनमा कमाएर साँझमा छाक टार्ने गरेका उनको परिवारलाई अहिले छाक टार्नै मूश्किल परेको छ।
'धन हुने मान्छेका लागि कुनै समस्या नपर्ला! तर हामी जस्तो दिनमा कमाएर साँझमा छाक टार्नेहरुका निम्ति धेरै मुस्किल भइरहेको छ’, बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्, 'त्यसैमाथि मेरो सानो नानी छ। बाहिर निस्कौं भने पनि मरिन्छ कि भन्ने डर लाग्छ। त्यसैले भित्रै बस्ने गरेको छु।'
सबैलाई मर्नदेखि डर लाग्ने भन्दै उनले घर भित्रै बस्दा खान नपाउने र बाहिर निस्कदा मरिन्छ कि भन्ने डरले घरमै बस्न बाध्य भएर बस्नु परेको उनले बताइन्।
यसैबीच सरकारले दैनिक ज्यालादारी गरेर जीवन धान्ने परिवारलाई राहत वितरण सुरू गरेको छ। यद्यपी उनले अहिलेसम्म आफूले कुनै राहत नपाएको गुनासो गरिन्।
'खै राहतका निम्ति फर्म त भरेको छु। सरकारले ५ केजी चामल मात्रै दिने रहेछ। लक डाउन भएकै यतिका दिन भइसक्यो। त्यति चामलले के गर्ने?’, उनले भनिन्।
लकडाउनसँगै महंगीसमेत बढेको भन्दै उनले सर्वसाधारणलाई पीडामाथि पीडा दिएको बताइन्।
‘यस्तै हो भने नेपाली जनता कोरोनसँगभन्दा पनि खानै नपाएर भोकमरीले मर्ने दिन नआउला भन्ने होइन’, उनले भनिन्।
निम्न आय भएका परिवारलाई भोकमरीले चाडै सताउने भन्दै सरकारलाई उचित व्यवस्था गर्न सुझाइन्।
गोलेजस्ता लकडाउनपछि दैनिक ज्यालादारी मजदुर सबैभन्दा बढी मर्कामा परेका छन्। दिनभरि काम गरेपछि मात्रै बेलुका चुलो जल्ने झन्डै १६ लाख श्रमिकलाई बजार बन्द हुँदा पेट पाल्नसमेत कठिनाइ भएको छ।
केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल श्रम सर्भे प्रतिवेदनअनुसार नेपालमा दैनिक ज्यालादारी गरी खाने श्रमिकको संख्या १५ लाख ८६ हजार छ। यो संख्या कुल श्रमिकको ४१ दशमलव ५ प्रतिशत हो। जसमध्ये पुरुष श्रमिकको संख्या ११ लाख ७५ हजार अर्थात् ४३ प्रतिशत हो। महिला श्रमिकको संख्या ४ लाख ११ हजार अर्थात् ३७ दशमलव ९ प्रतिशत छ।
दैनिक गुजाराको समस्या परेका श्रमिकलाई लक्षित गरी सरकारले राहत प्याकेज ल्याउनुपर्ने सरोकारवालले माग गरिरहेका छन्।