डब्लूएचओका प्रमुखलाई ज्यान मार्ने धम्की र जातीय अपमान

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन्।

यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा धम्की आएको महानिर्देशक टेड्रोस अधनोम घब्रेससले बताएका छन्।

उनले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए। 

 ‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए। तर उनले कसले धम्की दियो भन्नेबारे केही खुलाएका छैनन्। तर तीन महिनाअघि ताइवानबाट धम्की आएको उनको दावी छ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो। तर टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए। तर उनले आफूमाथि भएका सबै आलोचना र टिप्पणीको जवाफ नदिने जनाए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै डब्लूएचओमाथि कडा आलोचना गरेका थिए। डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आरोप थियो।

कोरोना भाइरस महामारीलाई बुझ्न तथा त्यसको नियन्त्रणका लागि चाल्नु पर्ने कदम पर्याप्त गर्न नसकेको भन्दै ट्रम्पले डब्लुएचओको आलोचना गरेका हुन्।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा पहिलोपटक डब्लुएचओमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले बुधबारको ब्रिफिङ्गमा पनि त्यसलाई निरन्तरता दिएका छन्।

बुधबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले कोरोना भाइरसको महामारीलाई सही तरिकाले बुझ्न नसकेको आरोप लगाएका हुन्। डब्लुएचओले आफ्ना प्राथमिकताहरुलाई सही गर्नु पर्ने उनले बताएका छन्।


 

प्रकाशित मिति: : 2020-04-09 08:32:01

प्रतिकृया दिनुहोस्